• १३ असोज २०८१, आइतबार

भारतले दशगजा क्षेत्रमा उपकरण राखेपछि हटाउन अनुरोध

blog

दशगजामा भारतले राखेको साइरनजस्तै देखिने उपकरण । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असार १ गते । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् । 

स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि त्यसको विरोध भएको हो । नेपाल–भारत सीमा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय पक्षबाट कचनकवल –१ घेरावारी क्षेत्र जडान गरिएको उपकरणको विषयमा हामीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छौँ’ गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले भन्नुभयो । कतिपय साइरनहरू सीमामा रहेको पिलर नै नजिकसमेत राखेको पाइएको उपाध्यक्ष भट्टराई ले बताउनुभयो ।

हामीसँग कुनै समन्वय भएको छैन र राखेको देखेपछि हामी अचम्मित बनेका छौँ, उपाध्यक्ष भट्टराईले भन्नुभयो । झापाका प्रमुख जिल्ला अधिकारीलाई पनि यस विषयमा जानकारी गराए पनि अहिलेसम्म स्थलगत रूपमा अनुगमन र यस विषयमा केही जवाफ आएको छैन, उहाँले बताउनुभयो ।  

सो क्षेत्रमा करिब ४ किलोमिटर क्षेत्रमा यस प्रकारका उपकरण रहेको र भारतीय पक्षले हात्तीको क्षति न्यूनीकरणका लागि साइरन राखेको बताएको पनि उपाध्यक्ष भट्टराईले बताउनुभयो । पिण्डलवारीदेखि घेराबारीसमम यस प्रकारका साइरनजस्तो देखिने उपकरणहरू राखिएको छ । साइरन हो या अन्य सेन्सर हो भन्ने हामीलाई थाहा छैन र जानकारी पनि आएको छैन, उहाँको भनाइ छ । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूहरूलाई पनि यस विषयमा जानकारी प्राप्त भएको र तत्कालै सशस्त्र प्रहरीलाई पनि जानकारी गराएर त्यस विषयमा जानकारी लिएको बताउनुभयो । उनीहरूले साइरन राखेको बताएको उल्लेख गर्दै दश गजा क्षेत्रमा नराख्न भनेको पनि उहाँले जानकारी दिनुभयो ।

भारतीय पक्षले दशगजा क्षेत्रमा रहेका साइरन हटाएर दशगजा बाहिर आफ्नै जमिन क्षेत्रमा गाड्ने प्रतिबद्धता जनाएको पनि पोखरेलले बताउनुभयो । “दशगजाबाट हटाउँछौ भनेका छन् र तत्काल हटाउने कुरा भएको छ” उहाँले भन्नुभयो । सीमामा हुने यस प्रकारका गतिविधिलाई सूक्ष्म रूपमा हेर्ने र बेवास्ता नगर्ने पनि उहाँले बताउनुभयो ।