• १३ साउन २०८१, आइतबार

रेसुङ्गा क्षेत्रमा जिपलाइन निर्माण हुँदै

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ ३२ गते । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन निर्माण गरिनेभएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्नेक्रममा यस क्षेत्रमा जिपलाइन निर्माण गर्न लागिएको हो । 

आन्तरिक तथा बाह्य पर्यटनको अत्यधिक सम्भावना भएको रेसुङ्गा क्षेत्रमा जिपलाइनलगायतका साहसिक पर्यटकीय पूर्वाधारले पर्यटक आगमनमा थप आशा जगाउने विश्वास लिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । 

गुल्मीलगायत आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारका कामहरू अगाडि बढेको तर साहसिक पर्यटनको क्षेत्रमा जिपलाइन लगायतका मनोरञ्जनका पूर्वाधार निर्माणले यस क्षेत्रको पर्यटनलाई बढवा दिनमा ठुलो मद्दत पुग्न नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । यसलाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) को अवधारणाअनुसार अगाडि बढाइने उहाँको भनाइ छ । 

रेसुङ्गा नगरपालिकाका पूर्वाधार संयोजक एवम् “जाउँ हिँड रेसुङ्गा” अभियानका संयोजक रामप्रसाद पन्थी ‘रामजी’ ले सामान्य सम्भाव्यता अध्ययन भइसकेको र यसलाई विस्तृत डीपीआर तयार गरेर आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेगरी अगाडि बढाइने बताउनुभयो ।