• १३ असोज २०८१, आइतबार

नक्कली कागज पेस गरी नागरिकता बनाउने दुई पक्राउ

blog

राधा लुइटेल

फिदिम, जेठ ३१ गते । भारतीय नागरिकलाई नागरिकता बनाइ दिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका –१ का गङ्गाप्रसाद आङदेम्वे र भारत आसाम निवासी समिति आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भारतीय नागरिक समिति गङ्गाप्रसादका झड्केलो छोरा हुन् । आङदेम्वेद्वय यसअघि पनि पटक–पटक नागरिकता लिन प्रशासन कार्यालय आएका थिए । प्रहरीका अनुसार पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका थिए । 

पक्राउ परेका समितिको यसअघि नै भारतबाट नागरिकता लिन भारतीय मतदाता नामावलीमा समेत नाम समावेश भएको पाइएको थियो । समितिकी आमाको पहिलो विवाह भारत आसामका नागरिकसँग भएको थियो । 

दोस्रो विवाह गरेर गङ्गासँग आएकी उनले अङ्गीकृत नागरिकता प्राप्त गरेकी छन् । समितिको नागरिकता बनाउन माझिटार आधारभूत विद्यालय हिलिहाङको लेटरप्याडमा चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरिएको छ ।

ती प्रमाणपत्रमा यसअगावै मृत्यु भइसकेका प्रधानाध्यापकको दस्तखत प्रयोग भएकाले त्यो पनि नक्कली हुनसक्ने प्रहरीको अनुमान छ । मंगलबार पक्राउ परेका दुवै जनालाई बुधबार पाँचथर जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रनाउ खतिवडाले बत्ताउनुभयो ।