• ४ पुस २०८२, शुक्रबार

तनहुँमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

blog

प्रहरीले बरामद गरेको एक थान कटुवा पेस्तोल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस ४ गते ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओम बाबुप्रसाद यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारमा सवारी साधन चेकजाँचका क्रममा यादव पक्राउ परेका हुन् ।

मुग्लिन पुलजीप नजिकको अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले बाराको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गरेको थियो । सोही क्रममा बसमा सवार यादवको साथबाट लुकाइछिपाई ल्याइएको अवस्थामा एक थान छोटो हतियार (कटुवा पेस्तोल) बरामद गरिएको डिएसपी बिकले जानकारी दिनुभयो । “शङ्कास्पद देखिएपछि चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल फेला परेपछि नियन्त्रणमा लिएका हौँ,” डिएसपी बिकले बताउनुभयो ।

हतियारसहित पक्राउ परेका यादवलाई हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि प्रहरीले जनाएको छ ।