शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ ३० गते। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस नोट निकाल्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न जानुभएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिनुभयो।
निर्देशक डा. अधिकारीका अनुसार उहाँका चिकित्सको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ। बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो। त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो।
