• १४ वैशाख २०८३, सोमबार

छेकाम्पारका बासिन्दा यार्सागुम्बा संकलनमा व्यस्त

blog

उत्तरी गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–७ छेकाम्पारका बासिन्दा यार्सागुम्बा संकलनका लागि उपल्लो भेगको लेकतर्फ जाँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, वैशाख १४ गते ।
उत्तरी गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–७ छेकाम्पारका बासिन्दा यार्सागुम्बा संकलनका लागि उपल्लो भेगको लेकतर्फ उक्लिन थालेका छन् । सिजन सुरु भएसँगै स्थानीयहरू करिब एक सातादेखि तिब्बती सीमाना आसपासका छेके, बाजु लगायतका लेक क्षेत्रमा पुग्न थालेका हुन् ।

छेकाम्पारका स्थानीय साङपा लामाका अनुसार यस वर्ष लेक क्षेत्रमा अझै हिउँ जमेको खबर आए पनि गाउँलेहरू क्रमशः उक्लिरहेका छन् । “पहिले यस बेला हिउँ हटिसक्थ्यो, तर यस पटक अझै ढाकिएको छ,” उहाँले भन्नुभयो, “हामी त्यहाँ पुगेर बस्दै जाँदा हिउँ हट्ने अपेक्षा गरेका छौं ।” लेकमा पुगेका स्थानीयहरू झण्डै एक महिनासम्म पाल टाँगेर बस्ने गर्छन् ।

यार्सागुम्बा यहाँका बासिन्दाको प्रमुख आम्दानीको स्रोत हो । वर्षभरिका खर्च धान्न उनीहरू यही सिजनमा निर्भर रहने गरेका छन् । खाद्यान्न तथा आवश्यक सामग्री याक, चौँरी र घोडामार्फत ढुवानी गरेर समूहमा लेकतर्फ जाने प्रचलन छ । अधिकांश गाउँले लेकतिर लागेपछि गाउँमा केही ज्येष्ठ नागरिक मात्र बस्ने गर्छन् ।

छेकाम्पार क्षेत्रको लेकमा बाहिरी व्यक्तिलाई यार्सागुम्बा संकलन गर्न प्रतिबन्ध लगाइएको छ । स्थानीय समितिलाई प्रति व्यक्ति पाँच सय रुपियाँ शुल्क तिरेपछि मात्र स्थानीयलाई संकलन अनुमति दिइन्छ । यहाँको यार्सागुम्बा गुणस्तरीय मानिने भएकाले बजारमा राम्रो मूल्य पाइने गरेको छ ।

यस वर्ष बालबालिकाको शिक्षामा सकारात्मक परिवर्तन देखिएको छ । विगतमा अभिभावकसँग लेकतिर जाने बालबालिका अब छात्रावासमा बसेर पढ्न पाउने भएका छन् । बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठन गरेपछि अभिभावक ढुक्क भएर लेकतिर जान थालेका छन् । यस व्यवस्थाले सिजनका कारण बालबालिकाको पढाइ प्रभावित नहुने अपेक्षा गरिएको छ ।