काठमाडौं, जेठ ३० गते । नेपाल एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङमा जारी प्रतियोगितामा मंगलबार नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको हो ।
पाकिस्तानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटिएको थियो ।
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन बनाउनुभयो । कविता जोशीले अविजित १५ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा पाकिस्तानकी सहिँदा शाह र तुवा हसनले दुई दुई तथा अनुशा नासिर र उम्मि हानीले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शवाल जुफिकले २८ रन बनाउनुभयो । कप्तान साना पत्तिमाले १६ र गुल फरुजाले ११ रन जोड्नुभयो ।
बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिनुभयो । कविता जोशी, कविता कुँवर र सिता रानामगरले दुई दुई विकेट झार्नुभएको थियो ।
जितसँगै समूह ‘ए’ मा रहेको पाकिस्तान शीर्षस्थानमा छ । नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यस प्रतियोगितामा अन्तिममा थाइल्यान्डले भिसा समस्याका कारण भाग नलिएपछि नेपाललाई सहभागिताको मौका दिइएको हो ।
समूह ‘ए’ मा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा नेपालले दोस्रो खेल जुन १५ मा भारत र १७ मा हङकङसँग खेल्नेछ ।
यस्तै समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलोदश र श्रीलङ्का रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।