जानकी, जेठ २९ गते । बाँके राप्तिसोनारी गाउँपालिका –८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैँ नरसिङ्गा फुक्नुहुन्छ । लोप हुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफू पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो ।
सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उहाँको भनाइ छ । “यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन । म शारीरिक रूपमा पूर्ण रूपले स्वस्थ छु”, उहाँले भन्नुभयो, “नरसिङ्गा अरू बाजा बजाए जस्तो होइन । यसलाई सासले बजाउनुपर्छ ।”
वलीले आफूसँगै समूहमा आबद्ध भएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताउनुभयो । “यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोपहुँदै जान्छ”, उहाँले भन्नुभयो, “अबको दुई-चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिनँ । नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन् । नरसिङ्गा लोप नहोस् भन्नका लागि मैले अरूलाई पनि सिकाउने गरेको छु ।”
अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उहाँले बताउनुभयो ।
संस्कृति संरक्षण समूहअन्तर्गतको पञ्चेबाजा उप–समूहमा आबद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउनुहुन्छ । सानैबाट नाच्ने गाउने रुचि भएकाले आफू समूहमा आबद्ध भएको उहाँले बताउनुभयो । घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताउनुभयो । “काम त सजिलो कुन चैँ छ र रु १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो”, उहाँले भन्नुभयो, “महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दश दश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ ।”
खत्री अहिले ४३ वर्ष पुग्नुभयो । परिवारको साथ र सहयोग पाएर नै आफू पञ्चेबाजा बजाउन गाउँगाउँ जान पाउने उहाँले बताउनुभयो । पैसाभन्दा पहिचान महत्त्वपूर्ण भएकाले आफूले जानेको काम गर्न पाउँदा खुसी लाग्ने खत्रीको भनाइ छ । “पैसा कमाउनका लागि हामीले पञ्चेबाजा बजाएका होइनौँ । हाम्रो लागि पहिचान ठुलो कुरा हो”, उहाँले भन्नुभयो, “पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई पञ्चेबाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ ।” आत्मसम्मानले नै महिलालाई बलियो बनाउने खत्रीको बसाइ छ । कुनैपनि काम गर्न महिलालाई उमेरले नछेक्ने बताउँदै उहाँले कुनै पनि काम गर्न इच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।
सोही समूहमा आबद्ध भीमा विष्ट ५४ वर्षकी हुनुहुन्छ । उहाँले अगुवा बाजा र सानो बाजा बजाउनुहुन्छ । संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोचले अगुवा र सानो बाजा बजाउन थालेको उहाँले बताउनुभयो । “म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे । जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो”, उहाँले भन्नुभयो, “एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ ।”
वि.सं. २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा रु १० हजार मात्र कमाएको विष्टले बताउनुभयो । समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।
भ–परिधि कार्यक्रम (ताल)ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृतिक संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आबद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन् ।
बिहे, पूजा, उद्घाटन समारोहलगायत ठाउँमा गएर बाजा बजाउँदा महिलाले नेपाली पोसाक लगाउने गरेका अध्यक्ष विष्टले बताउनुभयो । रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८ ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पर्खाले पहाडमा जोगाइ राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगाउने उद्देश्यले पञ्चेबाजा समूह गठन गरेको उहाँको भनाइ छ । उहाँका अनुसार सो समूहको कोषमा अहिले रु ६५ हजार जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले रु एक लाख ३२ हजार कमाएको थियो ।
बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यान हुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा ३० देखि ६५ वर्षसम्मका महिला आबद्ध छन् । रासस