• ८ मंसिर २०८१, शनिबार

बच्चा कोरल्न व्यस्त स्वर्गचरी

blog

काठमाडौँ, जेठ २९ गते । सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्यस्त छन् । 

पोथी स्वर्गचरीको जिउ खैरो हुन्छ । आँखा र टाउकोको रङ दुवैको उस्तै हल्का कालो हुन्छ । हेर्दै मन हर्ने सुन्दर रूप भएकाले पनि स्वर्गचरी हेर्न चरा पारखी यो मौसममा वनपाखा धाउने गरेका छन् । 

चराविद् डा. हेमसागर बरालले भन्नुभयो, “यो चरालाई धर्तीको अप्सरासँग तुलना गरेर स्वर्गचरी भन्ने गरिन्छ । पोथी फकाउन पखेटा फैलाउँदै लामो पुच्छर फहराउँदा यो चरा निकै सुन्दर देखिन्छ ।” यो चरीलाई पिँजडामा कैद गर्दा आफैँ विलुप्त भएको जनश्रुति रहेको पाइन्छ । उहाँले स्वर्गबाट विचरण गर्न आएको र चरासँग अन्तध्र्यान हुने शक्ति रहेको प्राचीन कथन रहेको बताउनुभयो ।

स्वर्गचरी नामकरण कसरी गरियो ? ठ्याक्कै उत्तर कसैसँग छैन । साविकको शाही नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन कुलपति लैनसिंह वाङ्देल तथा रबर्ट फ्लेनिङले संयुक्त रूपमा लेखेको ‘नेपालका चराहरू’ नामक पुस्तकमा स्वर्गचरी नामकरण गरिएको पाइन्छ र त्यसैका आधारमा यसलाई सोही नामबाट चिन्ने गरिएको छ । 

चराविद् डा. बरालका अनुसार दक्षिण भारत, मलेसिया र श्रीलङ्कामा हुने अत्यधिक गर्मी छल्दै बच्चा कोरल्न स्वर्गचरी नेपाल आउने गरेका छन् । माघको दोस्रो सातादेखि नेपाल यात्रामा निस्कने यो चरा मनसुन सुरु भएपछि आफ्नो देश फर्कन्छ । यतिखेर तराईदेखि उपत्यकाका विभिन्न वनमा स्वर्गचरीको गुँड लागेको छ । 

बर्दियाको उच्च गर्मीदेखि काठमाडौँको मध्यम गर्मीसम्मको मौसम स्वर्गचरीका लागि सुहाउँदो नै मानिन्छ । चराप्रेमी सञ्जय श्रेष्ठले उपत्यकामा टोखा र इचङ्गुमा यो चराको गुँड देखिएको बताउनुभयो । काठमाडौँमा आउने बानी परेकाहरू अन्त बस्दैनन् । यहीँ हुर्केर गएका बचेरा पनि ठूलो भएपछि आफ्ना बच्चा कोरल्न यहीँ आइपुग्ने अनुमान गरिन्छ । काठमाडौँमा प्रायःजसो सिमसार, खोल्साखोल्सी र अलिक ओस परेको क्षेत्रमा यसले गुँड बनाएको पाइएको छ ।

चराको अधिक बास रहेको चितवन स्वर्गचरीको धेरै गुँड लाग्ने स्थान हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्यटकीय नगरी सौराहा र मध्यवर्ती क्षेत्र वरपर स्वर्गचरीका धेरै गुँड लागेका छन् । कतिपयले बच्चा कोरलेर हुर्काउन थालेका छन् । चराविद् टीकाराम गिरीले कतिपय ओथारो बसिरहेको भेटिएको बताउनुभयो । घरको बगैँचामा पनि स्वर्गचरीले गुँड लगाउने गरेको देखिएको छ । 

चितवनमा आउँदा पहिले भालेपोथी उपरदाङगढी, सिद्धीलगायतका पहाडी इलाकामा घुमफिर गर्छन् । अनि गुँड लाउन मिल्ने स्थानको खोजी गरेर अन्डा पार्छन् । पोथी अन्डा कोरल्न बसेपछि भालेले पोथीका लागि आहारा सङ्कलन गर्न थाल्छ । उहाँले भन्नुभयो, “तर कहिलेकाहीँ एक्लै आएका धेरै भाले एउटा पोथीका लागि झगडा गरेको देखेको छु । यसो हुँदा पोथीले आफ्नो जोडी चयन गरेपछि भाले छुट्टिएर जाने गरेका छन् ।” 

प्रजनन गर्दा अत्यधिक चिसो सहन नसक्ने भएकैले दक्षिणबाट उत्तरतर्फ बसाइँ सर्ने स्वर्गचरीको पुरानो नियम हो । प्राकृतिक रूपमै गर्मीमा उत्तर आउने र जाडोमा दक्षिण फर्कने भएकाले यो चरा नेपालका लागि गैरआवासी चराका रूपमा चिनिन्छ । युरोपतिर नपाइने भएकाले नेपालमा यसको दुर्लभ दर्शन गरेर पर्यटकहरूले लाभ लिने गरेका छन् । 

बच्चा उड्न सक्ने भएपछि स्वर्गचरी घर फर्कन्छ । जान मानेमा बच्चा पनि सँगै उडाएर लान्छन् र नमानेमा छाडेर जान्छन् । नेपालमा जाडो सुरु हुनुअघि बच्चा आफैँ बाबुआमाको बाटो पछ्याउँदै देश फर्कन्छन् । सानो चरा भए पनि यसको बचेरा हुर्काइ राम्रो छ । चराविद् गिरीका अनुसार चार वटासम्म बच्चा कोरल्दा कतिपयको सबै र धेरैजसोको तीन वटासम्म बाँचेको पाइएको छ । गुँडमा बचेरा हुर्काउँदा अरू चराको पनि साथ लिने गरेका छन् ।