काठमाडौं, जेठ २८ गते । इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी-प्राय साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन तथा एक दिवसीय आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर सरगम प्रकाशन प्रा.लि. तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासङ्घ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासङ्घका उपाध्यक्ष विजय हितानले जानकारी दिनुभयो ।
सन् २०१६ देखि युकेमा रहेका नेपाली साहित्य सङ्गठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यमाथि चर्चा–परिचर्चा गरिएको हो ।
‘प्राय–साहित्य गोष्ठीमा भारत, भुटान र नेपालका विद्वानले प्राय–साहित्यमा कार्यपत्र पेस गरेका थिए । साथै प्राय–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा. गोविन्दराज भट्टराई थिए ।
गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति थियो ।
त्यसैगरी, पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक प्राय–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, प्राय–प्रेमको गुञ्जन, ब्लु प्लानेटको अङ्ग्रेजी संस्करण समेत विमोचन गरिएको छ ।
साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई पुरस्कृत गरिएको छ । प्रथम पुरस्कार भ्यागुताको बिहे कविताको लागि डा. विप्लव ढकाल, दोस्रो पुरस्कार वासुदेव अधिकारीको हिउँमारा तापमान र तेस्रो पुरस्कार कवि कृष्ण बाउसेको डाइनोसरको भजनलाई पुरस्कार तथा प्रमाणपत्र प्रधान गरिएको थियो ।
कार्यक्रममा नेपाली प्राय साहित्य प्रतिष्ठानको समेत घोषण गरिएको छ । प्रतिष्ठानलाई डाक्टर गोविन्द प्रसाद भट्टराईले एक लाख सहयोग गर्नुभएको छ । गोष्ठीमा प्राय–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनुका साथै विभिन्न स्रष्टाहरूले प्राय–कविता वाचन गर्नुभयो ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जुनमा मनाइने गरेको छ ।