• १३ साउन २०८१, आइतबार

लामो खडेरीले उम्रिएन हलेदो र अदुवा

blog

व्यास नगरपालिका–१३ मा खडेरी उम्रन नसकेको अदुवा र हलेदो । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २८ गते । 
लामो खडेरीले गर्दा तनहुँमा यस पटक नगदे बाली हलेदो र अदुवा उम्रन सकेको छैन । धान र मकै पछिको यो मुख्य बाली नउम्रिएपछि कृषकहरू चिन्तामा छन् ।

खडेरीले गर्दा ३० देखि ४० प्रतिशत मात्रै उम्रिएको र उम्रिएको पनि खडेरीले सुक्न थालेको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । 

तिवारीले भन्नुभयो, ‘‘हलेदो र अदुवा नउम्रिँदा जमिन बाँझैजस्तो देखिन्छ वर्षातको समय भएकाले उम्रिएर हर्लक बढेर गोडमेल गर्ने बेलामा पाखो जग्गामा राम्रोसँग उम्रिन पाएको छैन ।’’

पाखो बारीमा आकाशे पानीको भरमा यो खेती गरिने भएकाले लामो समयसम्म पानी नपाएर बाली सुकेको छ । जिल्लाको विभिन्न स्थानको अनुगमनपछि फक्रनु भएका केन्द्र प्रमुख तिवारीले भन्नुभयो, ‘‘यो खेती आकाशे पानीको भरमा गरिने हो, जिल्लाका अधिकांश क्षेत्रमा लामो खडेरीले गर्दा सुकेर बिउ नै मर्न लागेको देखियो ।’’

अधिकांश भूभागमा हलेदो र अदुवा उम्रन समेत नपाएपछि कृषकले दुर्दशा भोग्नुपरेको छ । गोडमेल गर्ने समयमा खडेरीले उम्रिन समेत नपाएकाले उत्पादन घटने चिन्ता हुन थालेको व्यास नगरपालिका–१३ बेलबासका कृषक यमबहादुर आलेले बताउनुभयो ।

४८ रोपनी क्षेत्रमा फलमा लगाएको हलेदो पानी नपर्दा उम्रिन नसकेको थोरै मात्रामा उम्रिएका पनि सुकेर पराल जस्तो भएको उहाँले बताउनुभयो । आलेले भन्नुभयो, ‘‘दिनभरको चर्को घामले माटो सुकेर जमिन नै बाँझो जस्तो देखिएको छ ।’’

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको आलेको भनाइ छ । तनहुँमा पाँच सय १७ हेक्टरमा हलेदो तथा एक सय ७२ हेक्टरमा अदुवा खेती हुने गरेको केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो ।