जीवनको ओराली उकालीमा
ससाना आवृतिले
च्वास्स घोच्छ, ढुकढुकी बढ्छ
भासिँदै र उक्लिँदै तीव्र आवेगमा
गुलाफको काँडामा टेकेपछिको सौम्यता !
यही त रहेछ जीवनको शाश्वतीय धरातल
पानीमा पोखिएको आकाश पनि कति
घमाइलो !
तिम्रो मनको आयाम झनै रमाइलो !
र अनुभूतिले भतभति पोल्छ
र पनि,
किन किन
मन रित्तो रित्तो छ यतिखेर !
थाँव्रmो पाए हौसिएर उभिने
नभए भुइँमै पनि लहरिँदै फैलिने
बारीको लहराजस्तै मनका छालहरू
पिल्सिँदै गइरहेका मर्यादाका सीमाहरू
तिम्रो दुनाभित्र गुम्सिएको मेरो टपरीको चित्कार
त्यही चित्कारभित्रको मिठासमा लुकेको छ
तिम्रो मेरो रङ्गमञ्चीय सार्थकता ।
मर्नु न बाँच्नुको दोसाँधमा अल्झिँदै
मधुरो सिमसारे तिम्रो अनुरागमा चोपलिँदै
तन्कँदै, खुम्चँदै राराको छचल्काइ जस्तै
तिम्रो मुहारमा टाँसिएका मधुर मुस्कानसँगै
खुसीका चञ्चल छायासित लतपतिएर
मिर्मिरे बिहानको कलिलो आभा खोपेर
सुनौलो नक्सा लेखेको छुँ आफ्नै छातीमा
र पनि,
किन किन
मन रित्तो रित्तो छ यतिखेर !