ओहो ! कला यस्तो पनि हुँदो रहेछ । होइन, कति धेरै होे कलाकारको ‘प्यासन’ । नेपाली मौलिक थाङ्का/पौभा कलाको अवलोकन गर्न पुग्नुभएकी बुटवलकी रीमा शर्माको आश्चर्यबोधक अभिव्यक्ति गुन्जियो । फोटोमा देखेकोभन्दा त प्रत्यक्ष हेर्नुको स्वाद नै बेग्लै हुने रहेछ । उहाँ पहिलोपल्ट कलामा यसरी रुमल्लिँदै हुनुहुँदो रहेछ । उहाँसँगै रहेका अन्य दिदीबहिनीको पनि अवस्था यस्तै थियो ।
यति बेला काठमाडौँस्थित नक्साल र बबरमहल कलामय बनेको छ । राष्ट्रिय ललितकला प्रदर्शनी स्थल सीताभवन, नक्सालमा कला हेर्न आउनेहरूले सबैभन्दा पहिले विशाल आकारको चव्रmसम्भरको धातुमूर्तिकला देख्न पुग्दछन् । प्राज्ञ कलाकार कालु कुमालेको यो सिर्जनाले दर्शकलाई उद्वेलित पार्छ । अनि भाजुमान, चन्द्रमान मास्के, अरनिको कक्षमा रहेका कलाका विविध विधालाई पनि दर्शक रसस्वादन गर्दै जान्छन् । यसका साथै कलाकृतिहरूको अर्को सङ्ग्रह बबरमहलको नेपाल कला परिषद्मा पनि सजाइएको छ, जहाँ लोकपरम्परागत कलाले दर्शक मोहित भइरहेका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष वैशाख २ गते आयोजना गर्दै आएको यो कला प्रदर्शनी यस वर्षबाट भने गणतन्त्र दिवस अर्थात् जेठ १५ गतेबाट सुरु भएको छ । ‘म, मेरो देश र मेरो सिर्जना’ शीर्षकको प्रदर्शनीले यति बेला कलाक्षेत्र चलायमान बनेको छ । कलाकार, कला अन्वेषक, समालोचक र जिज्ञासुहरूका लागि उल्लिखित कलादीर्घाहरू पुग्नैपर्ने स्थल बनेका छन् । प्रतियोगितात्मक यो प्रदर्शनीमा सातै प्रदेशका कलाकारले सहभागिता जनाएका छन् ।
यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो, जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ वटा कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ वटा कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ वटा कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ वटा कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ वटा कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ वटा कलाकृति, वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकारका २१ वटा कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ वटा कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ वटा कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ वटा कलाकृति, क्यारिकेचर विधामा चार जना कलाकारका चार वटा कलाकृति र डिजिटल विधामा छ जना कलाकारका सात वटा कलाकृति रहेका छन् ।
यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहलमा र आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरू नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा राखिएका छन् ।
प्रदर्शनीको पहिलो दिन यस वर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरियो । यसको राशि जनही एक लाख रुपियाँ र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार व्रmमशः नगेन्द्रप्रसाद पौड्याल र पत्रकार नारायणप्रसाद ढुङ्गानालाई प्रदान गरियो ।
यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवर्धन सम्मान सङ्गीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावना दूतका रूपमा अनिल चित्रकारलाई सम्मान गरियो । यस कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मुल्मीलाई विशेष सम्मान गरियो ।
समसामयिक चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यसै विधामा ललितकला विशेष पुरस्कार रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । परम्परागत चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो भने यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरमा सुश्रिना शाक्य, भावभङमा सुशान्तश्री राजभण्डारी, कार्टुनमा राजेश मानन्धर तथा फोटोग्राफीमा सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज वज्राचार्यलाई प्रदान गरियो । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । लोककला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरियो ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यसै विधामा ललितकला विशेष पुरस्कार टीकाराम पौडेल (शशि किरण) र मीना कायस्थलाई प्रदान गरियो ।
यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चव्रmबहादुर थापालाई प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई दिइयोे ।
प्रदर्शनी हुनु, पुरस्कार जित्नु त नियमित प्रक्रिया नै भयो तर यस वर्षदेखि प्रतिष्ठानले केही प्रभावशाली र महत्वपूर्ण कामको सुरुवात गरेको छ । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वत्वृत्ति प्रदान गरिएको छ । यसका साथै कला लेखन र कला पत्रकारिता उन्नयनका विषयमा पनि प्रतिष्ठानले महत्वपूर्ण कदम उठाएको छ । यसै वर्षदेखि कला सद्भावना दूत कला प्रवर्तक सम्मानको थालनी पनि आयोजनाको महत्वपूर्ण अंश बनेको छ ।
यति हुँदाहुँदै पनि प्रतिष्ठानले आगामी वर्षहरूमा केही विषयमा भने गम्भीर बन्न जरुरी छ । राष्ट्रिय कला प्रदर्शनी भनेको नेपाली कलाका लागि महत्वपूर्ण कार्यक्रम हो । यसले नेपाली कलाको आवरण र यसको धरातललाई उजागर गर्छ । तसर्थ कलाकृतिको भिड जम्मा गर्नुभन्दा साँच्चिकै राष्ट्रिय कला प्रदर्शनीमा समावेश हुन सक्ने सिर्जनालाई मात्र प्रदर्शनीमा समावेश गराइनु पर्दछ ।
कलाका विद्यार्थीले कक्षा कोठामा गुरुको निर्देशनमा बनाएको कलालाई प्रदर्शनीमा स्थान दिइरहँदा वर्षौंवर्ष कलामा साधनारत कलाकारको मूल्याङ्कन कुन रूपमा गरिने हो, सो कुरा विचारणीय छ । त्यस्तै व्यावसायिक ग्यालरीमा राखिएका कलाकृति नै सोझै प्रदर्शनीमा ल्याउँदा ठमेललगायत स्थानमा देखिने कलाकृतिले राष्ट्रिय कला प्रदर्शनीको गरिमा कसरी बढाउला ? प्रतिष्ठान र कलाकार स्वयं गम्भीर बन्न जरुरी छ ।
हुन त यस पटक प्रदर्शनी आयोजना गर्दा प्रतिष्ठान निकै ढिला गठन भएकाले पर्याप्त तयारी र योजना कार्यान्वयन गर्ने अवस्था बनेन । अघिल्लो ‘टिम’ले दिएको कार्यभारलाई नै पूरा गर्ने दायित्व यस पटक आइप¥यो । यसले पनि यो टिमले सोचे अनुरूप व्यवस्थापन गर्न नसकेको हुनु पर्छ तर आगामी वर्षमा भने अग्रज कलाकार, व्यावसायिक÷सृजनशील कलाकार, विद्यार्थी वर्गका लागि ‘क्याटगोरी’ छुट्ट्याएर प्रदर्शनी आयोजना गरिएमा राष्ट्रिय कला प्रदर्शनीमा सहभागीहरूप्रति न्यायोचित व्यवहार हुन जाने छ ।
नेपालको भूगोललाई ध्यानमा राख्दा सुदूर क्षेत्रमा रहेर सिर्जनाकर्ममा लागेका कलाकारले निकै दुःख र धेरै लगानी गरेर कलाकृति काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गरिनु पर्दछ । यसका लागि प्रतिष्ठानले प्रदेशहरूमा प्रदेशस्तरीय कला प्रतियोगिता र प्रदर्शनी आयोजना गरेर छनोटमा परेका कलाकृतिलाई उत्कृष्ट र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने कलाकृतिलाई समावेश गर्दा मात्र यो प्रदर्शनीको वजन बढ्ने छ । आशा छ, आगामी वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले यो विषयमा विचार गर्ने नै छ । यसले हरेक प्रदेशमा पनि नियमित कलाका अभ्यास र कार्यक्रम हुन सघाउ नै पुग्ने छ । कलाकृतिको भिडले मात्र प्रदर्शनीको ओज बढाउँदैन ।