• २३ वैशाख २०८१, आइतबार

युवाको सहभागितामा विकास सम्भव छ : मन्त्री साउद

blog

प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरज कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो । युवाहरुको सवालको जफाव दिंदै सामाजिक विकासमन्त्री झपटवहादुर साउद । तस्विरः भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), जेठ २५ गते । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको सकारात्मक विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । प्रदेश युवा परिषद्ले बिहीबार धनगढीमा आयोजना गरेको सामाजिक विकास मन्त्रीसँग युवाहरूको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा सहभागी युवाहरूको सवालको जवाफ दिँदै मन्त्री साउदले समाजको सकारात्मक विकासका लागि आफू सधैँ युवासँगै रहने प्रतिबद्धता जनाउनुभयो । युवाहरूको शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारीलगायतका सवालको जवाफ दिँदै मन्त्री साउदले आफूमा पनि केही गरेर देखाउने हुटहुटी रहेकाले हाम्रो स्रोत र साधनले भ्याएसम्म युवाहरूका यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कर्णालीमा पुल बनेपछि मात्रै काठमाडौंसँग सुदूरपश्चिम भौगोलिक हिसाबले नजिक भएको स्मरण गर्दै उहाँले अब सङ्घीयताले विकासको ढोका खोल्नुपर्ने बताउनुभयो । तराई पहाड र हिमाल मिलेको सुदूरपश्चिम प्रदेश अभावमा अब नरहेर र सम्भावनाको खोजी गरेर जनतालाई उत्साहित बनाउने बताउनुभयो । 

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, स्वरोजगार, युवा सशक्तीकरण, खेलकुद, हाम्रो भाषा संस्कृतिको संरक्षणलगायतका विषय सम्बोधन गरेकाले सोहीअनुसार बजेटको तयारीमा रहेको उहाँको भनाइ छ । 

सबै क्षेत्रको सहभागिताबिना सदियौँदेखि पछाडि पारिएको सुदूरपश्चिमको समृद्धि सम्भव नहुने मन्त्री साउदको भनाइ छ । युवालगायत सबैको साथ–समन्वय आवश्यक रहेको बताउँदै त्यसका लागि प्रदेश सरकारको सामाजिक मन्त्रालय अभिभावकको भूमिका निभाउन तयार रहेको बताउनुभयो ।