• १३ साउन २०८१, आइतबार

गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै

blog

प्रयोग विहीन गुल्मी अस्पतालका आइसियु बेड । तस्बिर: तिलाचन

तिलाचन पाण्डे

तम्घास, जेठ २५ गते । गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन । 

स्वास्थ्य उपकरणमा खिया आउन थालेको छ तर सेवाग्राही भने निजी अस्पतालहरूमा महँगो मूल्य तिरेर उपचार गर्न बाध्य छन् । जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात् ल्याबको प्रयोग नआएको स्वीकार गर्नुभयो । 

पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल ,सहज र कम खर्चिलोमा हुने भएको ल्याबको उपयोग नभएको उहाँले बताउनुभयो । आइसियु सञ्चालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको सञ्चालन हुन नसकेको पाण्डेको भनाई छ । 

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो । तर, अहिले १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै छन् ।