• १६ चैत २०८०, शुक्रबार

अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री शानयुक्त पालिका घोषणा गर्ने

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ २३ गते । हिमाली जिल्ला म्याग्दीको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिकाले आगामी २०८२ चैत मसान्त सम्ममा बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका र मिलन म्याग्दीको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहयोग एवं समन्वयमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पश्चात् स्थानीय तहका सबैले बालमैत्री शासन युक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् ।

बालमैत्री स्थानीय शासन अवलम्बन तथा बालमैत्री सुशासन प्रवर्द्धन गर्न अन्नपूर्ण गाउँपालिकाले सामूहिक प्रतिबद्धता जनाएको हो । अभिमुखीकरण कार्यक्रममा अन्नपूर्ण गाउँपालिकालाई आगामी २०८२ सालको चैत मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि पूर्ण रूपले सहयोग गर्ने र गराउनका लागि सामूहिक रूपमा प्रतिबद्धता जनाइएको छ । 

अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तहको विषयगत शाखा, सेवा प्रदायक सामाजिक सङ्घसंस्था, विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य संस्था, बाल क्लबका प्रतिनिधिलगायत सरोकारवालाहरूले स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको प्रक्रियामा सबैले सक्रिय तथा अर्थपूर्ण सहभागितासहित बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बालमैत्री पालिका घोषणा गर्नको लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो । बालमैत्री पालिकाको रूपमा घोषणा गर्न यसअघि नै आवश्यक तयारी सुरु गरिएको बताउँदै क्रमशः वडा घोषणासँगै पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने बताउनुभयो ।

गाउँपालिकाको उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, महिला र बालबालिकाको क्षेत्रमा प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो । दिगो विकासका लक्ष्यहरूलाई राष्ट्रियकरण र स्थानीयकरण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्नका लागि पालिकामार्फत अहिलेसम्म भएका प्रयासहरू र सञ्चालित गतिविधिहरूको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने लक्ष्य अनुरूप गडी बढेकोले सोही अनुसारको योजनामा अन्नपूर्ण पनि लागेको सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्नका लागि २०८२ सालको चैत मसान्तसम्म घोषणा गरिसक्ने निर्णयसहित सामूहिक प्रतिबद्धता जनाइएको छ । स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्नका लागि शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा बचाउ, घटना दर्तालगायत विभिन्न ५१ वटा सूचकहरू पुरा गर्नुपर्दछ । 

बालमैत्री पालिका घोषणाको लागि अन्नपूर्णको वडास्तरमा अभिमुखीकरण समेत सुरु गरिएको छ ।