• १२ वैशाख २०८१, बुधबार

सीआईएका “माइन्ड रिडर्स”

blog

शीत युद्ध आफ्नो उत्कर्षमा पुगेको अवधि सन् १९७० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईएले सोभियत सङ्घको जासुसी गर्न ‘माइन्ड रिडर्स’ अर्थात् मनका कुरा जान्ने मानिसहरू परिचालन गर्न सुरु गरेको थियो । ‘माइन्ड रिडर्स’ परिचालन गर्ने ‘प्रोजेक्ट स्टार गेट’ सन् १९७२ देखि सन् १९९५ सम्म सञ्चालनमा रह्यो र अमेरिकी कङ्ग्रेसका एक सदस्यले यसलाई सस्तो राडार प्रणालीसमेत भने । 

शीत युद्धकालको अत्यन्त तनावपूर्ण समयमा अमेरिकी सरकारले सोभियत सङ्घविरुद्ध प्रभावकारी नौलो अस्त्र प्रयोग गर्ने निर्णय ग¥यो र त्यो थियो अर्काको मनको कुरा जान्न सक्ने क्षमता भएका मानिसलाई परिचालन गर्ने, ‘माइन्ड रिडर्स’ ।

सन् १९७० को दशकको सुरुमा क्यालिफोर्नियाको एक प्रयोगशालामा र पछि मेरिल्यान्डको सैन्य आधार शिविरमा निकै नै गोप्य प्रोजेक्ट सञ्चालन गरियो । जसअन्तर्गत सीआईए, सेना र डिफेन्स इन्टेलिजेन्स एजेन्सीले सैन्य र घरेलु खुफिया भेद पत्ता लगाउन त्यस्ता महिला र पुरुषलाई भर्ती गरे जसले आफूमा विशेष संवेदी अनुभूति (ईएसपी) हुने दाबी गरेका थिए । 

सन् २०१७ मा सार्वजनिक गरिएका सीआईएको १२ पृष्ठका गोप्य दस्तावेजबाट पहिले खासै जानकारीमा नआएको कार्यक्रमको विस्तृत विवरण ज्ञात हुन आयो । ‘प्रोजेक्ट स्टार गेट’ सन् १९९५ मा बन्द गरिँदासम्म ‘रिमोट भ्युअर्स’ भनेर बुझिने ‘माइन्ड रिडर्स’ले  इस्लामिक आतङ्कवादी समूहद्वारा अपहरण गरिएका बन्धकहरूको अवस्थिति पत्ता लगाउनेदेखि अमेरिकाभित्र फरार अपराधी खोज्नेसम्मका कैयौँ अभियानमा सक्रिय भूमिका निर्वाह गरिसकेका थिए । 

‘प्रोजेक्ट स्टार गेट’ को कथा सन् १९७२ मा सुरु हुन्छ, जब सोभियत सङ्घले गुप्तचरी उद्देश्य राखेर मनोभाव बुझ्ने क्षमता ईएसपी तथा मनोप्रभावको सामथ्र्य राख्ने साइकोकेनेसिस अर्थात् सोचेरै वस्तुलाई चलायमान बनाउन सक्ने क्षमता भएका मानिसको अनुसन्धानमा मनग्गे खर्च गर्न लागेको गोप्य सूचना प्राप्त भएपछि अमेरिकी सेना र गुप्तचर समुदायमा हलचल मच्चिन्छ । प्रतिउत्तरमा सीआईएले क्यालिफोर्नियाको मेनलो पार्कमा रहेको स्ट्यानफर्ड रिसर्च इन्स्टिच्युटमा मुख्यालय रहने गरी आफ्नो निकै गोप्य अनुसन्धान सुरु गर्दछ । 

सोही वर्षको अन्त्यतिर स्ट्यानफर्ड रिसर्च इन्स्टिच्युटको अनुसन्धान टोलीले इजरायली सेनाका पूर्व ‘प्याराजम्पर’ युरी गेलरलाई परीक्षणका लागि मेनलो पार्कमा बोलायो । आफ्नो अलौकिक क्षमताले युरी विश्वमा प्रसिद्ध थिए । यसैकारण अलौकिक क्षमता जाँच्न मेलनो पार्कमा उनलाई बोलाइएको थियो । सोचेकै भरमा धातुका चम्चा बङ्ग्याउन सक्ने क्षमता युरीमा भए पनि सीआईएले  उनमा भएको अर्को व्यावसायिक खुबीमा चासो राख्यो ः अन्य मानिसको दिमागका कुरा जान्न सक्ने क्षमता । युरीले अन्य मानिसको दिमाग पढ्न सक्ने चर्चा सर्वत्र थियो । त्यति मात्र होइन उनी आफ्नो दिमागले अन्य मानिसको दिमाग नियन्त्रण गर्न सक्थे ।   

प्रयोगशालामा युरीमाथि आठ दिन वैज्ञानिकहरूद्वारा अनेक खालका परीक्षण गरिएको थियो । उनलाई तस्बिर र शब्दसम्बन्धी जाँचमा सहभागी गराइयो ।      

वैज्ञानिकले सबैभन्दा पहिले युरीलाई राम्रोसँग बन्द गरिएको एउटा कोठामा राखे । त्यसपछि परीक्षणका बेला वैज्ञानिकले डिक्सनरीबाट अनियमित विधिबाट शब्द चयन गरी त्यसको एउटा चित्र बनाएर युरीलाई बन्द गरिएको कोठाको ढोकामा टाँसिदिए । अनि युरीलाई आफ्नो अलौकिक क्षमताको प्रयोग गरी सोही तस्बिर बनाउन भनियो । उनले सफलतापूर्वक सौर्य प्रणाली, अङ्गुरको झुप्पा र राजहंश बनाइदिए ।  

युरी केही परीक्षणमा पूर्ण सफल नभए पनि सीआईएले भन्यो, परीक्षणको यस अवधिमा युरीको सफलताको परिणाम हेरेर हामी स्वीकार्छौं उनले आफ्नो असाधारण क्षमता ठोस र स्पष्ट तवरले प्रदर्शित गरेका छन् । 

युरीले सोचेकै भरमा धातुका तार र चम्चा मोडिदिन्थे । उनले सन् २०२२ मा द गार्जियन पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका थिए, “मैले अहिलेसम्म १० लाखभन्दा बढी चम्चा मोडिसकेँ । इजरायलको तेल अभिभमा बनाएको आफ्नो सङ्ग्रहालयमा उनले मोडिएका चम्चा राखेका छन् ।” 

एनी जेकब्सनले आफ्नो पुस्तक फिनोमिना ः ‘द सिक्रेट हिस्ट्री अफ दी यूएस गभर्मेन्ट्स इन्भेस्टिगेसन्स इन्टु एक्स्ट्रासेन्सरी पर्सेप्सन एन्ड साइकोकेनेसिस’मा लेखेअनुसार सार्वजनिक भएका दस्तावेजले सीआईएका विश्लेषक ‘माइन्ड प्रोजेक्सन’ अर्थात् मनोभाव जान्ने विषयमा गेरीको क्षमता तथा राष्ट्रिय सुरक्षाका लागि त्यसको सम्भावित उपयोग सम्बन्धमा अनुसन्धान गर्न चाहन्थे भन्ने देखाउँछ ।

जेकब्सनले पुस्तकमा उल्लेख गरेअनुसार गेरीसँगको अनुसन्धानले ईएसपी र साइकोकेनेसिसमाथि अमेरिकी सरकारको अनुसन्धानलाई गति दिन मुख्य भूमिका खेलेको थियो । उनी लेख्छिन्, “सन् १९७५ को हिउँदमा क्यालिफोर्नियाको लाइभमोर प्रयोगशालामा गेरीमाथि गोप्य तवरबाट कैयौँ साइकोकेनेसिस परीक्षण गरियो ।” यो त्यही प्रयोगशाला हो जहाँ वैज्ञानिकहरूले उन्नत परमाणु हतियार, लेजर प्रणाली तथा अन्य भावी हातहतियार प्रविधि विकास गरिरहेका थिए । 

सन् १९७० कोे दशकको अन्त्यतिर सीआईएले ईएसपीमाथि आफ्नो काम बन्द ग¥यो र अब मेरिल्यान्डको फोर्ट मिडमा रहेको अमेरिकी सेनाको आधार शिविरले सो कार्यक्रम सञ्चालन गर्ने भयो । त्यस कार्यक्रमलाई डिफेन्स इन्टेलिजेन्स एजेन्सीले आर्थिक सहयोग उपलब्ध गराउन थाल्यो । आगामी दुई दशकसम्म अमेरिकी कङ्ग्रेसले यस कार्यक्रमलाई बजेट उपलब्ध गराइरह्यो । 

सन् १९७९ मा अलौकिक अनुसन्धान विषयको एक बैठकमा नर्थ क्यारोलिनाबाट रिपब्लिकन दलका सांसद चार्ली रोजले गुप्तचरीसम्बन्धी ‘हाउस सेलेक्ट कमिटी’को बैठकमा अन्य सांसदलाई भनेका, “मलाई त यो प्रभावकारी सस्तो राडार प्रणाली नै लाग्यो । यदि रुसीहरूसँग यो भएको र हामीसँग नभएको भए हामी गम्भीर सङ्कटमा पर्ने थियौँ ।”

सरकारको निकै गोप्य कार्यक्रममा रहेर काम गरेका अलौकिक क्षमता भएकामध्येका एक थिए सेनाका अवकाशप्राप्त जोसेफ म्याकमोनिगल । वासिङ्टन पोस्टलाई पछि म्याकमोनिगलले भनेअनुसार सन् १९७८ देखि १९९८४ सम्म करिब चार सय ५० मिसनमा उनी सहभागी भएका थिए । जसअन्तर्गत इरानमा बन्धकहरूको अवस्थिति जान्न सेनालाई गरेको सहयोग तथा दक्षिण अफ्रिकामा समातिएका केजीबीका शङ्कास्पद जासुसको गोजीमा रहेको क्यालकुलेटरमा गुप्त सर्टवेब रेडियो रहेको जानकारी सीआईएलाई दिनु जस्ता कार्यसमेत सामेल छन् । 

अर्का ‘रिमोट भ्युअर्स’ एन्जेला डेलाफियोरा फोर्डलाई सन् १९८९ मा फरार रहेका एक पूर्वभन्सार एजेन्टको अवस्थिति पत्ता लगाउन सहयोग मागिएको थियो । सीबीसी न्युजको ‘४८ आवर्स’ कार्यक्रममा हालै कुरा गर्दै एन्जेलाले ती भन्सार एजेन्ट लुकेको स्थानको सटिक जानकारी आफूले दिएको बताइन् । उनले फरार व्यक्ति ‘लोभेल, वयमिङ’ मा रहेको बताइन् । जबकि अमेरिकी भन्सारकर्मीले एक सय ६० किलोमिटर पश्चिममा वयमिङको लोभेल नगरमा उनलाई समाते ।

भलै सरकारले गरिरहेको अनुसन्धानका विषयसँग सम्बन्धित रिपोर्ट सन् १९८० को दशकमा चुहावट भए पनि सार्वजनिक रूपमा पेन्टागनले कुनै पनि खालको ईएसपी तथा साइकोकेनेसिस अनुसन्धानमा लगानी नगरेको दलिल गरिरह्यो । अन्ततः सन् १९९५ मा स्वतन्त्र निकाय अमेरिकन इन्स्टिच्युट्स अफ रिसर्चद्वारा तयार पारिएको रिपोर्ट सीआईएले सार्वजनिक ग-यो, जुन रिपोर्टमा सैन्य र खुफिया उद्देश्यका लागि अमेरिकी सरकार लामो समयदेखि ईएसपी तथा साइकोकेनेसिस अनुसन्धानमा संलग्न रहेको लामो समयदेखिको हल्ला स्वीकार गरिएको थियो ।

सो रिपोर्टले प्रोजेक्ट स्टार गेट’ लाई असफलसमेत घोषणा गर्दै भन्यो, “असाधारण घटना ‘पारानर्मल फिनोमिनन’, ‘रिमोट भ्युइङ’को अस्तित्व प्रदर्शित गर्न सकियो कि सकिएन अझै स्पष्ट छैन ।” 

केहीले चाहिँ यसका केही प्रयोग सफल भएको दाबी गरेका छन् ।

त्यस वर्ष काम बन्द गरिनुको अर्थ अलौकिक घटनामा सरकारको चासो सकिएको चाहिँ होइन । जेकब्सनले लेखेका छन्, सन् २०१४ मा अफिस अफ नेभल रिसर्चले करिब ४० लाख डलर बजेटमा पूर्वाभास वा अन्तज्र्ञानको उपयोग खोज्न चार वर्षे एक कार्यक्रम सुरु गरेको थियो । ‘प्रोजेक्ट स्टार गेट’ अनुसन्धानका पूर्वप्रमुख डा. एड्विन मेले लामो समयपछिसम्म सैन्य र घरेलु खुफिया प्रयोजनका लागि ईएसपी वैध उपकरण भएको बहस गरिरहे । सन् २०१५ मा मे ले न्युजविकलाई भनेअनुसार गैरनाफामूलक संस्था बायल फाउन्डेसनको आर्थिक सहयोगमा उनले गरेको ईएसपीसम्बन्धी नवीन अध्ययन ‘सम्भवतः यस क्षेत्रको इतिहासमा सबैभन्दा उत्तम परीक्षण हो ।’