• १६ भदौ २०८१, आइतबार

‘पुँजीगत लाभकर नै अन्तिम कर’

blog

काठमाडौँ, जेठ २२ गते । प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेखित व्यवस्थाको विरोधमा अर्थ मन्त्रालय पुगेका लगानीकर्ताको टोलीलाई सरकारले प्राकृतिक व्यक्तिको हकमा सेयर बिक्री गर्दा पुँजीगत लाभकरबाहेक अन्य कर थप नगरिएको स्पष्ट पारेको हो । 

छलफल कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बिक्रीमा थप कर लगाउने गरी नयाँ कुनै व्यवस्था नगरिएको बताउनुभएको हो । विगतमा सेयर बिक्री गर्दा लाग्ने कर नै अन्तिम कर भएको उहाँले स्पष्ट पार्नुभएको हो । 

छलफलपछि अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै साबिककै व्यवस्था अनुसार सेयर कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने उल्लेख गरेको छ । त्यसअघि आन्तरिक राजस्व विभागले पनि सोही बेहोराको विज्ञप्ति निकालेर लगानीकर्तालाई स्पष्ट पारेको थियो । यद्यपि लगानीकर्ताले थप स्पष्टताको माग गर्दै आइरहेका थिए । नयाँ व्यवस्थाको विरोधमा रहेका लगानीकर्ताले आइतबार सेयर ब्रोकर कम्पनीमै पुगेर सेयर कारोबार प्रणाली (टे«ड म्यानेजमेन्ट सिस्टम) टिएमएस बन्द गराउन निर्देशन दिएका थिए । आन्दोलनमा रहेका लगानीकर्तासँग आइतबार नै छलफल गरेर सरकारले करको व्यवस्था स्पष्ट पारेको हो । 

आगामी आवको आर्थिक विधेयकको दफा २९ मा ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आव २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत् २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने छ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुने छ’ उल्लेख छ । यस्तो व्यवस्थाले सेयर कारोबारमा पुँजीगत करबाहेक थप करको भार सिर्जना गरेको भन्दै लगानीकर्ताहरू विरोधमा थिए । सरकारले नयाँ व्यवस्थाले नयाँ करको व्यवस्था नगरेको र पुँजीगत लाभकर नै अन्तिम गणना गर्ने गरी लगानीकर्तालाई निश्चिन्त पारेको हो । पुँजीगत लाभकर नै अन्तिम कर गणना गर्ने सरकारको प्रस्टतापछि आइतबार सेयर बजारमापक नेप्से सूचकमा सकारात्मक वृद्धि देखिएको छ ।