• १३ वैशाख २०८१, बिहिबार

टी–२० सिरिजमा नेपाल च्याम्पियन

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ २१ गते । घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला सिरिज नेपालले जितेको छ । आइतबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई तीन विकेटले हरायो ।

यससँगै नेपालले सिरिज ३-२ ले जितेको हो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेल  सात विकेट र तेस्रो खेल २७ रनले जितेको थियो । चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको थियो । 


निर्णायक खेलमा मलेसियाले दिएको एक सय १० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३४ रन बनाउनुभयो ।

कप्तान रुविना क्षेत्रीले२३, अप्सरी बेगम ले अविजित १५, ज्योति पाण्डेले अविजित ११ र इन्दु बर्माले पाँच बनाउनुभयो । बलिङमा मलेसियाका लागि हमिजा हसिमले दुई विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । 

मलेसियाका लागि वान जुलियाले सर्वाधिक ४७ रन बनाउनुभयो । विनिफ्रेड दुराईसिंघमले २४ र महिराह इज्जाती इस्माइलले २० रन जोड्नुभयो । बलिङमा नेपालकी कविता जोशीले दुई विकेट लिनुभयो ।

ईश्वरी विष्टले एक विकेट झार्नुभयो । नेपालकी कप्तान रुविना प्लेयर अफ दि सिरिज बन्नुभयो । उहाँले पाँच खेलमा ८१ रन जोड्दै पाँच विकेट पनि लिनुभएको थियो ।