• २५ वैशाख २०८२, बिहिबार

‘हिमाली क्षेत्रको संरक्षण आवश्यक’

blog

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार शीतल निवासमा सगरमाथाका पहिलो आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनका साथ । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौँ, जेठ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगत्को भविष्य सुरक्षित गर्न हिमाल र हिमाली क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित  हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिबार शीतल निवासमा भएको भेटमा उहाँले सो धारणा राख्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको असर न्यूनीकरण गरी पृथ्वी र सम्पूर्ण मानव जातिको हितका लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको बताउनुभयो । 

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विश्वको वातावरण संरक्षण हिमालबाट सुरु गर्नु पर्छ किन कि पानीको मूल स्रोत हिमाल हो ।” सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणका लागि विश्व समुदायले काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।