• ५ वैशाख २०८१, बुधबार

भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद

blog

भारत भ्रमणको प्रतिनिधिमण्डलमा रहनुभएका परराष्ट्रमन्त्री एनपी साउद राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालसँग अन्तरवार्ता दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवम् समझदारी भएका छन् । यो उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने नेपाल सरकारको विश्वास छ । प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित रहेर राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालले भारतको मध्यप्रदेश इन्दौरमा पराष्ट्रमन्त्री एनपी साउदसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंशः

प्रधानमन्त्रीको भारत भ्रमणलाई यहाँले कसरी लिनुभएको छ ?

सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सम्पन्न भएको छ । दुई देशका बीचको पुरानो, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई यो भ्रमणले अगाडि बढाएको छ । यो भ्रमणका क्रममा विभिन्न समझदारी र सम्झौता भएका छन् । यसले नेपाल–भारत पारस्परिक विकासका लागि राम्रो दृष्टान्त दिएको छ । ऊर्जाको विकास र व्यापारका सम्बन्धमा पनि भारतसँग ऐतिहासिक सहमति भएको छ । यो सहमतिले नेपालभित्र भारतीय र अन्य लगानी आउने विश्वास बढाएको छ । नेपालमा उत्पादन भएको विद्युत बङ्गलादेशमा पनि पठाउन सक्नेछौँ । त्यसले नेपालको बृहत् आर्थिक विकासमा योगदान पुर्‍याउनुका साथै भारतसँगको व्यापार घाटालाई पनि न्यूनीकरण गर्नेछ । सबै विषय सकारात्मक छन् । पारवहन सम्झौता नवीकरण भएको छ । पारवहनबाहेक अन्य ‘इन्ट्री प्वाइन्ट’हरुको कुरा, चेक प्वाइन्टको कुरा छ । यसलाई हामीले सकारात्मकता लिएका छौँ ।

विद्युत व्यापारसम्बन्धी सम्झौताले वैदेशिक लगानीकर्तालाई अब नेपालमा लगानीका लागि अवसर छ भन्ने सन्देश प्रवाह गरेको हो ?

विद्युतमा अर्बौँ लगानी गर्नुपर्ने हुन्छ । कुनै पनि लगानीकर्ताले उसको बजार सुनिश्चित नहुँदासम्म लगानी गर्न सक्दैन । सिद्धान्ततः भारतले नेपालको विद्युत किन्न स्वीकार गरेको छ । आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ । उहाँहरूले २५ वर्षसम्म किन्ने प्रत्याभूति दिनुभएको छ । आवश्यकताअनुसार आउने १० वर्षमा बढ्दै जाने सहमति भएको छ । दोस्रो भारतीय ग्रीडलाई प्रयोग गरेर हाम्रो विद्युत बङ्गलादेशसम्म पुर्‍याउन भारत सहमत भएको छ । त्यसमा हामीले बङ्गलादेशसँग पनि कुरा गरेका छौँ । बङ्गलादेश पनि नेपालका लागि भारतजस्तै महत्त्वपूर्ण विद्युत बजार हो । त्यो फाइदा पनि नेपालले लिनसक्ने अवस्था देखिएको छ ।

नेपाल र भारतबीचको सीमा समस्याका सम्बन्धमा पनि छलफल गरौँ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुरा भएको बाहिर आएको छ । त्यसमा के प्रगति भएको हो ?
सीमाको सम्बन्धमा दुवै देशबीचमा लामो समयदेखि सीमासम्बन्धी संयन्त्रले काम गर्दै आएको छ । त्यसमा नक्साको काम पनि भइरहेको छ । सहमति हुन नसकेको स्थानमा कूटनीतिक एवम् राजनीतिक तहमा आवश्यक निर्णयमा पुग्नुपर्ने देखिन्छ । यतिञ्जेलसम्म सीमा समस्याका बारेमा नेपालले नै अली बढी आवाज उठाइरहेको देखिन्थ्यो र त्यो स्वाभाविक पनि थियो । अहिले स्वयं भारतका प्रधानमन्त्रीले पनि नेपालसँगको सीमा र अन्य समस्याका विषयमा भारत समाधान गर्ने दिशामा अगाडि बढ्नेछ भन्नुभएकाले यसले नेपालसँगको सम्बन्धलाई भारतले नयाँ सिराबाट हेर्न खोजेको देखिन्छ । हाम्राबीचमा भएका विवादलाई टुङ्याएर दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अरु अगाडि बढाउन खोजेको स्पष्ट देखिन्छ ।

भ्रमणअघि नेपालमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवेदनको विषयलाई लिएर अनेक खालका टिप्पणी भइरहेको थियो, द्विपक्षीय भेटवार्तामा त्यस विषयले प्राथमिकता पायो कि पाएन ?
इपिजी प्रतिवेदन दुवै देशका सरकारबाट गठित प्रबुद्ध व्यक्तिहरुको समितिले तयार गरेको हो । त्यो प्रतिवेदनप्रति हाम्रो नैतिक जवाफदेही हुन सक्दछ । तर त्यसको कार्यान्वयनको कुरा दुवै देश सहमत नहुँदासम्म सम्भव छैन । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल सकारात्मक छ । हामीले त्यो प्रतिवेदन पढिसकेका छैनौँ । तर त्यसमा जिम्मेवार बौद्धिक व्यक्तित्वहरु हुनुहुन्छ, त्यसका कारण उहाँहरुले सहमति दिएका कुरामा हामीलाई विश्वास छ । सँगसँगै भारतले त्यसलाई बुझिसकेको अवस्था छैन । भारतले किन बुझेन, कसरी बुझेन भन्ने कुराकाबारेमा पटकपटक नेपालको राजकीय तहमा कुरा भएको छ । उनीहरुले त्यसका बारेमा जवाफ दिनुपथ्र्यो । विगतका सरकार जो बहुमत, दुई तिहाइका सरकार थिए उनीहरुले भारतसँग त्यो बेलामा भएको कुराकानीका बारेमा ‘मेमोरी’ हस्तान्तरण भएको छैन । तर यसपटक हामीले इपिजी प्रतिवेदनका सम्बन्धमा भारतको दृष्टिकोण आफैँ आओस् भन्ने सोच लिएर विवादका लागि विवाद मात्रै गर्ने गरेर मुद्दा उठाएनौँ ।

सीमा समस्यालाई नयाँ ढङ्गबाट अगाडि बढाऔँ भन्ने भारतीय प्रतिबद्धता आएको छ, यसलाई कसरी लिने ?
इपिजी प्रतिवेदन कुनै विवाद होइन, त्यो नैतिक जिम्मेवारीको दस्तावेज हो । दुई वटा देशको सरकारले चाहेर समूह गठन भयो, उनीहरुले प्रतिवेदन दिए, त्यसलाई हामीले पढ्नुपर्छ, पढिसकेपछि जस्ताको तस्तै लागू हुन्छ कि, पुनरावलोकन गर्नुपर्छ त्यसका बारेमा छलफल हुन सक्दछ । तर हाम्रातर्फबाट सकारात्मक छौँ, भारतले त्यसलाई बुझेको छैन, अब इपिजी प्रतिवेदन र सीमाका विषय फरक हुन् । सीमाका विषय संवेदनशील हुन्, नेपालको पनि त्यसमा सरोकार छ । यससम्बन्धमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं सकारात्मक जवाफ दिनुभएको छ । यो समस्या धेरै लामो समयसम्म थाँती राख्नुभन्दा पनि समस्या समाधान गर्ने बाटोमा हामी जानुपर्दछ ।

कञ्चनपुरको चाँदनी–दोधारामा एकीकृत जाँचचौकी निर्माण गर्ने, महाकालीमा पक्की पुल निर्माण गर्ने विषयमा पनि सहमति भएको छ । तपाईं त्यहीको जनप्रतिनिधि हुनुहुन्छ, यसलाई कसरी लिनुहुन्छ ?
दोधरामा सुख्खा बन्दगाहा र एकीकृत जाँचचौकी निर्माण गर्ने कुरामा सहमति भएको छ । डडेल्धुराको पर्शुराम क्षेत्र र दार्चुलाको झुलाघाटमा पक्की पुल बनाउने कुरा भएको छ । केही ठाउँमा तुइन विस्थापित गरेर महाकालीमा झोलुङ्गे पुल बनाउने कुरा गरेका छौँ । त्यसका लागि खर्चको हकमा हामी आफैँ दिन तयार छौँ भनेर स्पष्ट पारेका छौँ ।

समग्रमा यसपटकको भारत भ्रमण कस्तो रह्यो ?
धरै हिसाबले यो भ्रमण ऐतिहासक नै छ । पारवहन सन्धिको नवीकरण गरिएको छ । ऊर्जासम्बन्धी सहमतिमा पुगेका छौँ । केही हप्ताभित्रै भारतको ‘क्याबिनेट’ बसेर त्यसलाई अनुमोदन गर्ने विश्वास दिलाउनुभएको छ । विभिन्न सात वटा समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्धमा ठोस् सहमति हुन सकेन भन्छन् नि ?
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका विषयमा केही मुद्दा छन् भन्ने सबैलाई थाहा छ । हामी महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर परियोजना अघि बढोस् भन्ने चाहन्छौँ । त्यसका लागि सबैभन्दा पहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन जरुरी छ । तीन महिनामित्र डिपिआर बनाउने र त्यसपछि पानी बाँडफाँटका विषयलाई समाधान गर्दै जाने भन्ने विषयमा छलफल भएको छ । रासस