• २३ असार २०८२, सोमबार

आर्थिक हिसाबले मुलुक अप्ठ्यारो अवस्थामा छ : पूर्व अर्थमन्त्री पाण्डे

blog

नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २० गते । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बताउनुभएको छ । स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो । आर्थिक रूपले मुलुक सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार मितव्ययी हुनुपर्ने उहाँको सुझाव छ । 

सरकार र निजी क्षेत्र दुवै आर्थिक रूपले दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय सङ्कट आउन सक्ने परिस्थिति देखिएको बताउनुभयो । उहाँले निजी क्षेत्रले बैङ्कको ब्याजदर घट्नुपर्ने माग राखे पनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताउनुभयो । 

 

पूर्व अर्थमन्त्री पाण्डेले यो वर्ष बैङ्कको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताउनुभयो । चालु आर्थिक वर्षमा करिब ९ प्रतिशत कर्जा वृद्धि भएको भन्दै अर्को वर्ष योभन्दा बढी हुने अवस्था नभएको बताउनुभयो । 

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न पनि अर्थतन्त्र बुझेका विज्ञहरू मिलेर जानुको विकल्प नभएको बताउनु भयो । अर्थतन्त्र बुझेकाहरू एक भए मात्रै देशलाई आर्थिक रूपमा सही ठाउँमा ल्याउन सकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘अहिले मुलुकको अर्थतन्त्र धेरै अप्ठ्यारो स्थितिमा देखेको छु । सरकार र निजी क्षेत्र दुवैमा दबाब छ । त्यसकारण पनि अगाडि वित्तीय रूपमा सङ्कट आउने होकि भन्ने लागेको छ ।” यसपालि ९ प्रतिशत कर्जा वृद्धि भएको उहाँले बताउनुभयो । अर्को वर्ष यो भन्दा कर्जा वृद्धि हुने अवस्था नरहेको उहाँले बताउनुभयो । 

पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्तहरूमा भाँडभैलो अवस्थामा रहेको बताउनुभयो । सुधारका लागि अर्थविज्ञहरु मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ । सरकारी वित्त र करका नीतिका विषयमा कलम चलाउँदा नीति निर्माताहरुलाई सहयोग पुग्ने बताउनुभयो ।