• ८ मंसिर २०८१, शनिबार

एपिएफ र थ्रीस्टारको बराबरी

blog

एपिएफ टोली ।

काठमाडौं, जेठ २० गते । विभागीय टोली एपिएफ क्लब र थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा एपिएफ र थ्रीस्टारले १–१ गोलको बराबरी खेलेको हो ।

एपिएफका लागि मणि कुमार लामाले गोल गर्नुभयो । थ्रीस्टारका सुनिल तामाङले बराबरी गोल फर्काउनुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता एपिएफले लिएको थियो । २३औँ मिनेटमा मणिले गोल गर्दै एपिएफको उत्साह जगाउनुभयो ।

थ्रीस्टारले दोस्रो हाफको अन्तिममा बराबरी गोल गर्दै हार टारेको थियो । सुनिलले ८६औँ मिनेटमा गोल गर्दे थ्रीस्टारलाई हारबाट जोगाउनुभएको हो । बराबरीसँगै एपिएफको २४ खेलबाट ३० अङ्क पुगेको छ । थ्रीस्टारले समान खेलबाट २८ अङ्क बनाएको थियो । 

यस्तै च्यासल मैदानमा भएको अर्को खेलमा सातदोबाटो यूथ क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्कराज सिंह ठकुरीले गोल गर्नुभयो । आर्मीका नवयुग श्रेष्ठले सान्त्वना गोल फर्काउनुभयो ।

शिवले दोस्रो मिनेटमै गोल गर्नुभएको थियो । २९औँ मिनेटमा नवयुगले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ६३औँ मिनेटमा दिपेन्कले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई महत्त्वपूर्ण जित दिलाउनुभयो ।

जितसँगै सातदोबाटोले २४ खेलबाट ३२ अङ्क बनाएको छ । आर्मीको समान खेलबाट ३०  अङ्क पुगेको छ ।