धर्मराज र सावित्रीको सुवर्णलता नाम गरेकी बच्ची थिई । जो अति नै जिद्दी थिई । उसले भनेको हुनु पर्दथ्यो । नभए उत्पात मच्चाउँथी । पछिल्लो समयमा उसलाई तारा हातमा लिने रहर जाग्यो । तारा हातमा लिन नपाए भातै नखाने भई सुवर्णलता । “मलाई तारा चाहियो बुबा ! तारा चाहियो,
आमा !” सुवर्णलता घडघड गरिरहन्थी । त्यसो त बच्चाहरू जिद्दी स्वभावका हुन्छन् तर सुवर्णलता अलि बढी नै जिद्दी थिई ।
बाबु धर्मराजलाई फसाद प-यो । छोरीले भन्दैमा तारा टिपेर दिन कहाँ सम्भव थियो र ! “तारा भनेका भगवान् हुन् । भगवान् टिपेर दिन सकिने वस्तु होइनन्,” धर्मराज सम्झाउँथ्यो ।
सुवर्णलता कहाँ मान्थी र ! “नाइँ मलाई तारा चाहियो–चाहियो !” उसले रटान गर्न छोडिन ।
“नसक्ने कुरा कसरी दिने ?” धर्मराज झर्कियो ।
“मलाई तारा दिनै पर्छ । चाहियो चाहियो !” सुवर्णलताको घड्घड रोकिएन ।
“मेरी बुद्धिमान छोरी ! भोलि म तिमीलाई ताराहरूको बगैँचामा घुमाउन लैजान्छु अनि तिम्रो हातमा तारा दिन्छु । आज झगडा नगरी भात खाउ ।” केही सिप नलागेपछि धर्मराजले भन्यो ।
“दिनुभएन भने ?”
“अवश्य दिन्छु । मेरो विश्वास गर !”
ताराहरूको बगैँचा घुमाउन लैजाने आश्वासन सुनेर सुवर्णलता शान्त भई । “हाम्रो बुबा कति जाती । हाम्रो बुबा कति जाती,” भन्दै बुरुकबुरुक उफ्रिई ।
सुवर्णलता त्यो रात छिट्टै निदाई । धर्मराज र सावित्रीलाई भने बोलेको कुरा कसरी पूरा गर्ने भन्ने चिन्ता थियो । धर्मराजले दुर्गानाथ माडसापलाई सम्झियो । दुर्गानाथ माडसाप गाउँका अक्कली व्यक्तिमा गनिन्थे । उनी सामान्य मानिसले असम्भव ठह¥याएका विषयको समाधान निकाल्थे ।
“भोलि एक पटक दुर्गानाथकहाँ जानुस् न त । उपाय सुझाउँछन् कि ? नत्र छोरीले बसिखान दिन्न,” सावित्रीले लोग्नेलाई कर गरी । मङ्सिर लागिसकेकाले गाउँमा दाइँको चटारो थियो । किसानहरू अँध्यारोमै बर्को ओढी खलातिर लाग्थे ।
“भोलि हो कि पर्सी, दुर्गानाथले दाइँ हाल्दैछन् भन्ने सुनेको थिएँ । सबेरै गोरु लिएर खलातिर हिँड्लान्, अँध्यारोमै जानुपर्छ,” धर्मराजले भन्यो । भोलिपल्ट सबेरै धर्मराज दुर्गानाथको घर पुग्यो । परन्तु ऊ पुग्दा दुर्गानाथ घरबाट निस्किसकेका थिए । धर्मराज रित्तो हात फर्कियो ।
“जानु मात्र भयो, दुर्गानाथ भेटिएनन् । खलातिर हिँडिसके छन्,” घर फर्केपछि धर्मराजले श्रीमतीलाई सुनायो । “अब के गर्ने होला त भरे ?” सावित्री सोचमग्न भई । “छरछिमेकीको पनि राय बुझ न । तिनका पनि बच्चा छन् । बच्चा सबैका उस्तै हुन्,” धर्मराजले सिकायो । पँधेरामा पानी भर्न जाँदा सावित्रीले देउरानी–जेठानीहरूसँग सुवर्णलताका कुरा राखी ।
“बच्चाले के माग्छन् के माग्दैनन्, तिनको पछि लागेर हुन्छ ? मेरो सानो छोरा घोडा किनिदे भन्दै पिरोल्छ । रिसको झोँकमा खाँदाखाँदैको थालको भात घोप्ट्याइदियो । उसले भन्दैमा घोडा किनिदिउँ म ? बच्चा हुन्, कराउँछन् कराउँछन्, चुप लाग्छन् !” जेठानीले भनी ।
“मेरी छोरीको कुरो सुन्नु न दिदी ! दुध खान्छु भनी, मनतातो बनाएर दिएँ, तातो भो भनी । त्यसपछि सेलाएर दिएँ, चिसो भो खान्न भनी । फेरि तताएर दिएँ, दुध थोरै भो, थपिदिनुस् भनी । एक डाडु थपिदिएँ । त्यसपछि घिउ पनि हालिदे अनि बल्ल खान्चु भनी । ल खा भन्दै घिउ हालिदिएँ, चिनी चाहियो भन्दै लेघ्रो तानी । चिनी हालिदिएँ, गुलियो बढीभो निकालिदे भनी ! भो अब ? दुधमा घुलिसकेको चिनी कसरी निकाल्नू । यसो गर्दा पनि हुँदैन, त्यसो गर्दा पनि हुँदैन । मेरा त भाउन्न छुट्न थाले । एक चड्कन लाइदिएँ’, देउरानीले सुनाइ । “हो त भन्या । बच्चा यस्तै हुन् । हामी पनि सानामा त्यस्तै थियौँ होला,” अर्की देउरानीले थपी ।
दिन ढल्यो । सूर्यले विश्राम लियो । रातले अन्धकारको घुम्टी बढाउँदै लगेसँगै धर्मराज र सावित्रीको चिन्ता घनीभूत हुँदै गयो । सुवर्णलताको “तारा चाहियो....!” को पुरानो घड्घड अझ उकालो लाग्यो । सावित्री छोरीलाई लिएर घरबाहिर निस्किई । त्यति बेलासम्म तारा आकाशमा चम्किसकेका थिए । सुवर्णलताका आँखा ताराहरूमाथि परे । “मेरो हातमा त्यो तारा दिनुस् । मेरो हातमा तारा दिनु ।” सुरु भयो उही एकोहोरोपन ! उही जिद्दी ! “आज हैन छोरी, भोलि दिन्छु,” सावित्रीले भनी ।
“हिजो, आज दिन्छु भन्नुभा हैन ?”
“आज ताराहरू बिरामी पर्नु भएछ । यहाँ आउन सक्दिन भन्नुभो, कसो गरौँ !”
“तारालाई के भयो ?” सोधी उसले ।
“लडेर खुट्टा मर्कियो रे ।”
“हैन होला ढाँटेको । मलाई आजै चाहियो ।”
“ढाँटेकी हैन । ताराहरूले आउन नसक्ने जानकारी पठाउनुभएकै हो ।” “उसो’भा भोलि पक्का दिनु पर्छ । नत्र म मान्दिनँ–मान्दिनँ ।” सुवर्णलताले भनी ।
धर्मराज र सावित्रीमा ‘हस्’ भन्नुको विकल्प रहेन । दुवै छोरीको मागप्रति चिन्तित हुँदै ओछ्यानमा पल्टिए । “छोरीको जिद्दी भोलि पनि समाधान गर्न सकिएन भने ?” त्यही यक्ष सवालका बिच धर्मराज निदायो ।
धर्मराज अर्को बिहान भालेको तेस्रो डाँकोसँगै दुर्गानाथकहाँ पुग्यो । ऊ पुग्दा दुर्गानाथ लोटामा पानी लिई ख्याकख्याक खु्कखुक गर्दै नित्य स्नान गरिरहेका थिए । धर्मराजले दुर्गानाथलाई दुई हात जोडी नमस्कार चढायो । दुर्गानाथले पिँढीमा बस्न सङ्केत गरे । अनि हत्केलामा जनै बेर्दै गायत्री जप सुरु गरे । धर्मराज पिँढीको गुन्द्रीमा थुचुक्क बस्यो । केही बेरमा दुर्गानाथको नित्य कर्म सकियो । “हिजो पनि आका रै’छौ । भन के समस्या आइलाग्यो ?” लोटा दैला ठेलामा राख्दै सोधे दुर्गानाथले ।
“छोरीको जिद्दी थामी नसक्नु भो सर ! कहिले यो ल्याइदे त कहिले त्यो ल्याइदे भन्छे । असम्भव कुरा मागेर हैरान पार्छे ।”
“के मागी छोरीले ? प्रस्ट भन,” मुठे जुँगामा ताउ दिँदै दुर्गानाथले सोधे ।
धर्मराजले समस्याको बेलिबिस्तार लगायो । दुर्गानाथले आकाशतिर हेर्दै क्षणिक गम खाए । अनि दृढताका साथ भने, “समाधान सजिलो छ । यसो...यसो... गर्नू । छोरी मानिन भने मेरो कान काटिदिए हुन्छ !”
दुर्गानाथको सूत्र सुनेर धर्मराज दङ्ग प¥यो । उसको अनुहारको चिन्ताको बादल एकाएक गायब भयो । ऊ रमाउँदै घर फर्कियो । घर फर्किना साथ सावित्रीलाई सबै कुरा सुनायो । दिउँसो भयो । सुवर्णलता साथीहरूसँग खेल्न गई । उसले भरे हाम्रो आमाले तारा हातमा दिनुहुन्छ भन्दै साथीहरूसँग फुइँ लगाई । त्यो सुनेपछि अन्य भुराभुरीहरूमा पनि सुवर्णलतामा जस्तै तारा हातमा लिने रहर जाग्यो । सबै खेल छोडेर तारा माग्न घरघर दौडिए । हरेक घरमा रडाको र रुवाबासी सुरु भयो ।
साँझ प¥यो । अन्धकारले साम्राज्य बिस्तार गर्दै लगेसंँगै ताराहरू चम्किन थाले । सुवर्णलता तारा टिप्न जाऊँ भन्न थाली । परन्तु सावित्रीमा त्यो साँझ अघिपछिभन्दा बढी आत्मविश्वास थियो । ऊसंँग दुर्गानाथले दिएको समाधानको सूत्र थियो । ऊ छोरी काखमा बोकेर घरबाहिर निस्किई । अनि धारामा एक बाल्टिन सफा पानी भरी ।
“पानी के गर्नी आमा ?” सोधी सुवर्णलताले ।
“चुप लागेर हिँड्, तेरो हातमा तारा दिए भएन ?” रिसाएझैँ सावित्रीले भनी ।
घरनजिकै खुला चौर थियो । सावित्री पानीको बाल्टिन र छोरीलाई लिएर चौरमा पुगी । सुवर्णलताका आँखा बाल्टिनको पानीमा परे । ऊ बाल्टिनको पानीभित्र ताराहरूको विशाल संसार देखेर चकित भई । उसको मनमा अद्भूत रोमाञ्चकता दौडिन थाल्यो ।
“छोरी ! तिम्रो हात देऊ त । म तिम्रो हातमा तारा राखी दिन्छु ।” सावित्रीले भनी ।
सुवर्णलताले रमाउँदै दायाँ हात बढाई । सावित्रीले छोरीको हात बाल्टिनको पानीमा प्रतिविम्बित ताराहरूको बगैँचामा लगेर राखिदिई । सुवर्णलतालाई यथार्थमै तारा छोएजस्तो, तारा टिपेजस्तो अनुभूति भयो ।
“मैले तारा टिपेँ । तारा टिपेँ ।” ऊ खुसीले कराई ।
सुवर्णलता त्यतिको खुसी कहिल्यै थिइन । छोरीको जिद्दी शान्त गर्न सफल भएकोमा सावित्री पनि हर्षविभोर भई । उसका आँखाबाट खुसीका आँसु झरे ।
“मेरो आमा !” “मेरी प्यारी छोरी !” दुवैको मुखबाट निस्कियो । सावित्री र सुवर्णलता कसिलो अँगालोमा बाधिँए । सुवर्णलता पहिले जस्तै हाँस्ने, खेल्ने भई ।