• ८ मंसिर २०८१, शनिबार

सन्दकपुरमा रमाउँदा

blog

सुरम्य चियाबारी, थुम्का थुम्का डाँडा, नागबेली सडक र बुकी फूल मगमगाउने फाँटले पूर्वी पहाडी जिल्ला इलामको ‘रिमिक्स’ परिचय दिन्छ । चार खोलाको बेँसी होस् या फुस्स फुस्स हिउँ झरिरहने सन्दकपुरको थुम्को नै किन नहोस्; इलाम आफैँमा स्वर्गभूमि हो । ‘ग्रिन कार्पेट’ बिछ्याए जस्तो हरिया चियाबारी इलामको शान मात्रै होइन, गौरव पनि हो । त्यसैले त इलाम नाम सुन्दा नै घुम्न निस्किहालौँ भन्ने हुटहुटी जोकोहीलाई भइहाल्छ । 

यहाँका स्थान पर्यटकका लागि ‘ड्रिम प्लेस’ नै हो भन्दा पनि फरक पर्दैन । मनमोहक चियाबारी, स्वच्छ हावापानीसँग रमाउन इलाम चर्चित पर्यटकीय गन्तव्य हो । तराईको रापिलो गर्मी छल्न मात्र होइन, चियाको इतिहास बुझ्न पनि इलाम उक्लिनुपर्ने बाध्यता पर्न सक्छ । सूर्योदयको भूमि भएकाले पनि इलाम पुग्न सबैलाई हतारो हुन्छ । केन्द्रीय राजधानीबाट छ सय किलोमिटर सुदूरपूर्वको पहाडी जिल्ला इलामले पछिल्लो समय चर्चित गन्तव्यका रूपमा परिचय बनाउँदै गएको छ । नेपालको वास्तविक प्राकृतिक सौन्दर्य हेर्न र रमाउन चाहनेहरूका लागि इलाम पुग्नै पर्ने गन्तव्यमा समेटिँदै गएको छ । 

जब जोर कलशको स्वागतद्वार पार गरेर नागबेली सडकमा हुइँकिँदै पहाडको यात्रा प्रारम्भ हुन्छ, तब सानी पाथीभरा सामुन्ने शिर झुकाउँदै कन्यामको चियाबारी पुगिन्छ । यहाँ पुगेपछि इलाम पुगेको अनुभूति हुन्छ । अनि सुरु हुन्छ, पर्यटकीय गन्तव्य पुग्ने तालिकाको बेलिविस्तार ।  इलामका सबै पर्यटकीय गन्तव्य मनमोहक र पर्यटक लोभ्याउने छन् । त्यसमा पनि सन्दकपुर अझ छुटाउनै नहुने गन्तव्यमध्ये एक हो । सन्दकपुर गाउँपालिकामा पर्ने यो ठाउँ समुद्री सतहबाट नौ सयदेखि तीन हजार ६३६ मिटर उचाइसम्म फैलिएको छ । 

लाप्चा जातिको भाषा सन्दक्फु नामबाट अपभ्रंश भई सन्दकपुर नामकरण गरिएको इतिहास पाइन्छ । इलामको सबैभन्दा अग्लो डाँडाका रूपमा रहेको सन्दकपुर सदरमुकामबाट ४२ किलोमिटरमाथि उचाइमा पर्छ । यहाँ पुग्न इलाम बजारबाट माइपोखरी, देउराली, माइमझुवा हुँदै एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ । अर्को बाटो फिक्कल, पशुपतिनगर हुँदै भारतीय भूभागबाट ट्याक्सी चढेर पनि पुग्न सकिन्छ । 

सन्दकपुरबाट कात्तिकदेखि वैशाखसम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको अर्को महत्वपूर्ण पक्ष भनेको हिमालको अवलोकन गर्न पाइनु हो; जुन यहाँको जस्तो अन्य कतैबाट पनि सम्भव छैन । नेपालसहित भारतको सिक्किम, भुटान र तिब्बतका ६० भन्दा बढी हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यस हिसाबले सन्दकपुर विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । 

सन्दकपुरको मुख्य थुम्कोबाट नेपालका सर्वोच्च शिखर सगरमाथा, कन्चनजङ्घा, मकालु, पाथीभरा, कुम्भकर्ण, ल्होत्से, भारतको सिक्किमका पाण्डिम, सिल्भो, राथोङ, पाहुन्द्री, सिनोल्चु र जोङसङ आदि हिमाल देखिन्छन् । 

यस्तै भुटानको कुलुकाङ्गी, जोमोलरी र तिब्बतका ग्याचुकाङ, सिसापाङमालगायत हिमालका चुचुरा देख्न सकिन्छ । छिनछिनमा फेरिरहने मौसम र आँखैअगाडि देखिने हिमशृङ्खलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा पर्यटकलाई स्वर्गीय आनन्द दिलाउँछ । अनेकौँ प्रजातिका लालीगुराँस फुलेको हेरेर विश्वभरका पर्यटकले आनन्द लिने गरेका छन् । 

विश्व सम्पदा सूचीमा सूचीकृत माईपोखरीको दृश्यले पनि सबैको मन हर्छ । विभिन्न वन्यजन्तु, चरा, वनस्पति, हिमशृङ्खला, छाँगाछहरा र पौरखी किसानको उत्पादन तथा पशुपालन व्यवसायले पर्यटकलाई थप उत्साहित बनाउँछ । अग्ला डाँडा र थुम्काथुम्कीबाट देखिने सूर्योदय र सूर्यास्तको अलौकिक दृश्यसहित लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको अवलोकन पर्यटकका लागि नौलो लाग्छ । 

यस्तै समुद्री सतहबाट तीन हजार दुई सय मिटरमा रहेको जैविक विविधता तथा प्रकृतिले सिँगारिएको अर्को उत्कृष्ट पर्यटकीय स्थल छिन्टापुमा फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले पर्यटकलाई मोहनी लगाउँछ । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलमा लोकल कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वाद तथा न्यानो आतिथ्यले पर्यटकको मन थप लोभिन्छ । 

सन्दकपुर आसपास रहेका बौद्ध धर्मावलम्बीको साधना केन्द्र डुख्याङ गुम्बा तथा रमिते ढुङ्गा, बालागुरु गुफा, लालबास पोखरी रहेका छन् । यस्तै विश्वकै लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने दोबाटे क्षेत्र, माबुथाम, कालपोखरीनजिकै रहेको लालबास सिमसार क्षेत्र र त्यहाँका अनेकौँ प्रजातिको लालीगुराँस, सुनाखरी फूल र चराको चिरबिर आवाजले पर्यटकलाई थप मन्त्रमुग्ध बनाउँछ । 

कलात्मक काठेघरहरूमा आरामदायी बसाइँसँगै स्थानीय शेर्पा, तामाङ, राई, लिम्बू र गुरुङ जातिको परम्परागत संस्कृति र रहनसहनमा रमाउन पाउँदा स्वदेशी तथा विदेशी पर्यटकलाई सन्दकपुर फेरि पनि जाउँ जाउँ लाग्ने बनाउँछ । आदिवासी जनजातिको मौलिक रहनसहन, जातीय वेशभूषा र हरेक चाडपर्वमा नाचिने जातीय झाँकीले पनि सांस्कृतिक रौनक थपेको छ । मगर जातिको हुर्रा नाच, सुनुवार जातिको स्यादर चण्डी नाच, किराँत र राई जातिले आफ्नो वेशभूषामा सजिएर नाच्ने उधौली, उभौली र साकेला चण्डी नाचले पर्यटकलाई संस्कृतिमय बनाउने गर्छ ।

सङ्गिनी नाच तथा लिम्बू जातिको भोजभतेर र मेलापर्वमा नाचिने धाननाच, पालमनाच, च्याब्रुङ ढोलनाच सन्दकपुरमा जीवन्त देख्न पाइन्छ । यस्तै हिन्दु सनातन समुदायले गर्ने १६ संस्कारमा आधारित सांस्कृतिक नृत्य यहाँ बसोबास गर्ने ब्राह्मण र क्षेत्री समुदायले संरक्षण गरेका छन् । इलामको लोकप्रिय गन्तव्य माईपोखरीदेखि सन्दकपुर धापपोखरीसम्मको करिब ५० किमिको टे«किङ रुट टे«किङमा रमाउने पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । सङ्घीय सरकारको सव्रिmयतामा सुरु गरिएको उक्त ट्रेकिङ रुटको यात्रा गर्न तीन दिन छुट्याउनुपर्ने हुन्छ । 

इलाम घुम्न जाँदा सन्दकपुर घुमफिरकै लागि थप दुई दिन छुट्याउने हो भने सन्दकपुरका प्रायः सबै पर्यटकीय गन्तव्यको अवलोकन गर्न सकिन्छ । सन्दकपुरमा बस्न खानका लागि सुपथ मूल्यमा होटल र होमस्टेको व्यवस्था गरिएको छ । सन्दकपुरको डाँडामा भने बस्नखान केही महँगो पर्छ । सन्दकपुर घुमफिरमा समूहमा निस्कँदा छदेखि आठ हजार रुपियाँसम्म र एक्लै निस्कँदा १५ हजार रुपियाँसम्म खर्च छुट्याउनुपर्ने हुन्छ ।

  

Author

गोविन्द मरासिनी