• १६ चैत २०८०, शुक्रबार

सुन्दर पुतली

blog

पुतलीले वातावरणीय काम पनि गर्छ । धेरैलाई थाहा नभए पनि अप्रत्यक्ष रूपमा यसले उत्पादन बढाउन  सहयोग गर्छ । अन्नबाली, तेलहन र फलफूलमा पराग सेचन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । फूलमा रस चुस्दाचुस्दै भालेपोथी फूलबीच पराग सेचन भई अन्नबाली उत्पादनमा सहयोग पुग्छ । पुतलीले जलवायु परिवर्तनको सूचकका रूपमा पनि काम गर्छ, यो स्वस्थ वनको सूचक पनि हो । आकर्षक देखिने पुतलीले पर्यापर्यटनका लागि समेत भूमिका खेल्छ ।

बासस्थानको समस्या तथा जलवायु परिवर्तनले सुन्दर पुतली सङ्कटमा पर्दै गएका छन् । प्रकृतिलाई सन्तुलनमा राख्न योगदान गर्ने पुतली पर्यटकको रोजाइमा समेत पर्ने गरेको छ । फूलको पराग सेचन क्रियामा मद्दत पु¥याउने पुतलीले एउटा फूलको पराग अर्को फूलमा सार्ने काम गर्छ । 

अन्य वन्यजन्तु तथा चराबारे धेरै अध्ययन गरेर संरक्षणका कार्यक्रम नेपालमा कार्यान्वयनमा रहे पनि पुतलीबारे अहिलेसम्म त्यस्तो केही कुनै कार्य भएको छैन । जसका कारण अचेल सहरबजारतिर पुतलीको सङ्ख्या पातलिँदै गएको छ । झुन्डमा देखिने पुतली घट्दै गएका छन् । बढ्दो मानवीय बस्तीसँगै कोलाहलपूर्ण वातावरणले बासस्थान विनाश हुँदा पुतली समस्यामा परेका हुन् । 

बढिरहेको बाक्लो बस्ती, फूलबिरुवा नहुनु तथा डढेलोले गर्दा पुतलीको बासस्थान घटिरहेको छ । जलवायु परिवर्तनको असर हुन सक्छ तराईमा पाइने पहाडमा र पहाडमा पाइने पुतली हिमालमा देखिन थालेका छन् । 

नेपालमा छ सय ६० प्रजातिका पुतली पाइन्छन् । नेपालको ठूलो अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन सय ४७ प्रजातिका पुतली पाइएका छन् । 

विश्वमा आठ हजार प्रकारका पुतली पाइन्छन् भने विश्वमा अन्यत्र नपाइने आठ प्रकारका पुतली नेपालमा छन् । 

नेपालमा पाइने सबैभन्दा सानो पुतली ग्राम ज्वेल हो भने सबैभन्दा ठूलो गोल्डेन वर्डविङ ।