यादवराज पुुरी
रौतहट, जेठ १९ गते । रौतहटको परोहा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण सुरु गरेको छ । धुवाँमुक्त नगर अभियान कार्यक्रमअन्तर्गत पालिकाले वडा नम्बर १ बाट विपन्न परिकारको एक घर एक सिलिण्डर र चुल्हो वितरण गर्न सुरु गरेको हो ।
दाउरा, गुईँठा, पराललगायतका इन्धन प्रयोग गरी खाना पकाउँदा त्यसबाट निस्केको धुँवाले स्वास्थ्यमा असर पर्ने भएका कारण पालिकास्तरीय सर्वदलीय निर्णय गरी धुँवामुक्त सिलिण्डर र चुल्हो वितरण गर्न अभियान नै थालिएको वडा अध्यक्ष शेख मोहमुद आलमले जानकारी दिनुभयो ।
उहाँकाअनुसार वडावासीको आवश्यकताबमोजिम वडामा ग्यास र चुल्हो गरी ४८३ सेट माग गरिएको छ । पालिकाले उपलब्ध गराएको सो सामाग्री प्राथमिकताको आधारमा गरिब, विपन्न, मजदुर, अपाङ्ग, एकल महिलालाई वितरण गरिएको छ ।
पालिकाका प्रमुख शेख वकिलले धुँवामुक्त नगर अभियान कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा ग्यास सिलिण्डर र चुल्हो वितरण गरिने योजना रहेको बताउनुभयो ।