• १३ वैशाख २०८१, बिहिबार

दमकल कर्मचारीमाथि हातपात गर्ने तीन पक्राउ

blog

कर्मचारीलाई हातपात गर्नै पक्राउ परेकाहरु । तस्बिरः नेपाल प्रहरी

नारद कोहार

तौलिहवा, जेठ १९ गते । कपिलवस्तु नगरपालिका –८ मैनिहवामा आगो नियन्त्रण गर्न गएका दमकल कर्मचारीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति गरेको आरोपमा तीनलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

जेठ १४ गते राति करिब ८ः३० बजे मैनिहवा गाउँमा सिताराम कुर्मीको गोठ र कुखुरा फर्ममा भएको आगलागीपछि दमकल लिएर कर्मचारी आगो निभाउन पुगेका थिए ।  प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आगो निभाउने क्रममा दमकलको पानी सकिएपछि पानी भर्न जानेक्रममा स्थानीय युवाहरूले सवारी चालक घनश्याम कुर्मी, फायरम्यान पल्टु यादव र नगर प्रहरी रामकृष्ण यादवलाई कुटपिट गरी दमकलमा तोडफोड गरेको प्रहरीको भनाइ छ ।  

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका –८ दोहनीका २५ वर्षीय अम्मर चौधरी भन्ने राजेश कुर्मी, सोही स्थानका ३२ वर्षीय रामप्रसाद कुर्मी र ३८ वर्षीय शिवपुजारी कुर्मी रहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो । 

दमकलका कर्मचारीले घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै नगरपालिकामा लिखित उजुरी दिएका थिए । दमकलको अगाडि भागको सिसा फुटेको छ भने टायरमा समेत क्षति पुगेको छ ।  

पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहारको मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो । सोही मुद्दामा प्रहरीले प्रशासन कार्यालयमा मुद्दा दर्ता गराई ५ दिनको म्याद समेत थपेको छ ।