• १५ चैत २०८०, बिहिबार

मलेसियामाथि नेपालको दोस्रो जित

blog

मलेसियालाई हराएपनि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, जेठ १८ गते । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।

जितसँगै सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले मलेसियामाथि सात विकेटको सानदार जित निकालेको थियो । 

जितका लागि नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट को क्षतिमा ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रन बनाउनुभयो ।

विनिफ्रेड दुराईसिंघमले २० रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी सिता रानामगर, इन्दु बर्मा र कविता कुँवरले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाउनुभयो । ज्योति पाण्डेले २३, सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाउनुभयो । 

बलिङमा मलेसियाका निक नुर अतिएलाले दुई विकेट लिनुभयो ।  एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले एक एक विकेट लिनुभयो । नेपालले चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।