• २३ असार २०८२, सोमबार

विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

blog

अर्थ मन्त्रालयमा बुधबार नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रममा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका निर्देशक फारिस् हदाद जर्भोस र अर्थ सचिव अर्जुनप्रसाद पोखरेल । तस्बिर: रासस

काठमाडौं, जेठ १७ गते। नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैङ्कका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस् हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

विश्व बैङ्कअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए) ले ‘ग्लोबल पार्टनरसिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि यस्तो ऋण र अनुदान दिएको हो। नेपालमा लागू भइरहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम (स्कुल सेक्टर ट्रान्सफरमेसन प्रोग्राम) मार्फत यो रकम खर्च हुनेछ।

प्रारम्भिक तहका कक्षामा राष्ट्रिय रूपमा एकीकृत पाठ्यक्रम निर्माणका लागि यस्तो रकम खर्च हुनेछ। त्यस्तै, कोभिड-१९ महामारी र विभिन्न प्राकृतिक विपद्का कारण असर परेको शिक्षण सिकाइलाई पुनरुत्थान गर्ने, सहज र सिकाइमैत्री कक्षाकोठा तथा पाठ्यक्रम निर्माण, शौचालय, सिकाइमा डिजिटल प्रविधिको प्रयोगलगायत क्षेत्रमा उक्त  रकम खर्च हुने जनाइएको छ।

कार्यक्रममा अर्थसचिव पोखरेल यस कार्यक्रमको सफल कार्यान्वयनबाट विद्यालय शिक्षामा विद्यार्थीको पहुँच बढ्ने र सिकाइमा गुणस्तर कायम हुने अपेक्षा गरिएको बताउनुभयो। “मानव पुँजी विकासका लागि शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षाका लागि यस कार्यक्रमले प्रभावकारी भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो।

त्यस्तै, विश्व बैङ्कका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस् हदाद जर्भोसले विद्यालय क्षेत्र सुधार कार्यक्रमले हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) अवधारणा कार्यान्वयनमा बल पुग्ने बताउनुभयो। “पहुँचयोग्य र गुणस्तरीय शिक्षाका लागि गरिने लगानीले नेपालले अपनाएको ग्रिड अवधारणा कार्यान्वयनमा पनि सघाउ पुर्‍याउनेछ भन्ने अपेक्षा छ”, उहाँले भन्नुभयो। रासस