कालीकोट समाचारदाता
कालीकोट, मङ्सिर २८ गते । कालीकोटको दुर्गम बस्ती बद्रीगाउँको पहिचान तरकारीले फेरिदिएको छ । पहाडी भूभागमा पनि जटिल प्रकृतिको बद्रीगाउँका किसानले व्यावसायिक तरकारी खेती गरेरै आफ्नो र गाउँको मुहार फेरेका छन् । उनीहरूको मेहनतले सदरमुकाम मान्मदेखि विभिन्न सहरमा घरजग्गा जोडेका छन् ।
खाँडाचक्र नगरपालिका–४ को उक्त गाउँका कृषकले बर्सौंदेखि राम्रो आम्दानी गर्दै आएका छन् । २०५६ सालमा गाउँका तीनदेखि पाँच जनाले सुरु गरेको तरकारी खेती बढ्दै जाँदा २०५८/६० सम्म पुग्दा पूरै गाउँ तरकारी खेतीमा होमियो । अहिले सो गाउँमा १३५ घरधुरी छन् । ३४ घरपरिवारले गाउँ छोडे पनि बाँकी १०१ घरपरिवार अहिले पनि तरकारी खेतीमा संलग्न छन् ।
४ नं. वडाध्यक्ष प्रभानन्द आचार्यका अनुसार तरकारी खेतीबाट बद्रीगाउँका ६० जना किसानले सदरमुकाम मान्ममा घर बनाएका छन् । मान्ममा घर भएका सबैको सुर्खेत, बाँके, बर्दिया, कैलाली र काठमाडौँमा पनि घरजग्गा छ । यहाँका किसानले आलु, बन्दाकोपी, काँक्रा, मुला, गोलभेँडालगायत मौसमी तथा पछिल्लो समयमा बेमौसमी तरकारी खेतीबाट कमाएको आम्दानीले घरजग्गा जोडेको उहाँले बताउनुभयो । सामान्य साक्षर किसानले परम्परागत कृषि खेतीबाट तरकारी खेतीमा जुटेपछि ठुला सहरमा समेत घरजग्गा जोडेका छन् ।
तीमध्ये सात जनाले तरकारीकै आम्दानीले काठमाडौँमा घर जोडेका छन् भने सदरमुकाम मान्ममा भएका ६० घरपरिवारका सुर्खेत, बर्दिया र कैलालीमा पनि घरघडेरी छन् । बाँकी घरपरिवारका बद्रीगाउँसँगै कसैका सुर्खेत र कसैका बर्दिया, कैलालीमा घर छन् । यहाँका नागरिक तराई र सहरमा घर नभएका कुनै बाँकी नभएको आचार्यले बताउनुभयो ।
तरकारीको उत्पादन राम्रो हुने भएकाले बजारमा यसको माग पनि उत्तिकै छ । यहाँका कृषकले गाउँमै उत्पादित तरकारी नजिकैका बजारदेखि जिल्लाबाहिर जुम्ला र दैलेखसम्म पु¥याउने गरेका छन् । कतिपयले यात्रु तथा मालवाहक गाडीसमेत किनिसकेका छन् । कृषक भवानी आचार्यका अनुसार आलुको कमाइले पनि तराईमा घर लिएको बताउनुभयो ।
स्थानीय तहले पनि बद्रीगाउँलाई उद्यमशील कृषिक्षेत्रका रूपमा अगाडि बढाएको छ । सिँचाइ, बिउबिजन, मलखाद र कृषि प्रविधिको पहुँच विस्तारमा सहयोग गर्दा उत्पादन अझै बढेको कृषि प्राविधिकको भनाइ छ । मेहनतकै कारण कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मादेखि निजामती, शिक्षक र सेना प्रहरीमा यहाँका युवाले स्थान बनाउन सफल भएका छन् ।