काठमाडौं, जेठ १५ गते । सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ ।
सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।
चालू आर्थिक वर्षका लागि कृषि तथा पशु पंक्षी मन्त्रालयअन्तर्गत ५५ अर्ब ९७ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार तीन अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ ।
अर्थमन्त्री डा. महतले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको बताउनुभयो ।
पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताउनुभएको छ ।