• १२ वैशाख २०८१, बुधबार

जमाना “बबल टी”को

blog

युवापुस्तामा ‘बबल टी’ को क्रेज दिनानुदिन बढ्दो छ । फेसनका रूपमा चलेको यो चिया छोटो समयमा लोकप्रिय हुँदै छ । ‘बबल टी’  अन्य चिया जस्तो तातो हुँदैन, यो चिसो पिउने हो । यो चिया ‘आइस टी’ जस्तै हुन्छ । ‘बबल टी’लाई ‘पर्ल मिल्क टी’, ‘टोपिका मिल्क टी’, ‘बोबा टी’ धेरै नामले चिनिन्छ । यो पेय पदार्थले गर्मी मौसममा शितलता प्रदान गर्छ । 

‘बबल टी’ ताइवानको एक लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलो पटक ताइवानमा सुरु गरिएको थियो । सन् १९९० को दशकमा गएर यो अमेरिका हुँदै विश्वमा छाउन थाल्यो र केही वर्ष पहिले नेपालमा पनि भित्रियो । 

कतिपय देशमा ‘बबल टी’ चिसो र तातो दुवै स्वादमा तयार गरिन्छ । ‘बबल टी’ मुख्यतया दुई किसिमले तयार गरिने भए  पनि पछिल्लो समय यसका प्रकार स्वाद अनुसार दर्जनौँ छन् । 

‘बबल टी’ स्टेसन चलाएर सहर बजारमा गुजारा गर्नेहरू बढेका देखिन्छन् । रेस्टुराँको पेय पदार्थको मेनुमा पनि ‘बबल टी’ का अनेक प्रकार देख्न सकिन्छ । 

‘बबल टी’ को मुख्य सामग्री टापियोका पर्ल हो, जुन पिँडालुको पिठो (स्टार्च)बाट बनाइन्छ । यो निकै कोमल र चुइँगम जस्तो हुन्छ । यसका प्रकार ‘कफी’ या ‘टी फ्लेवर पाउडर’, ‘क्रिम फ्लेवर पाउडर’ ‘जुस फ्लेवर पाउडर’ प्रमुख हुन् । ‘टी हाउस’ या 

‘सुपरमार्केट’ मा ‘बबल टी’ का लागि चाहिने अधिकांश सामग्री उपलब्ध रहने हुँदा स्वास्थ्यका हिसाबले यसलाई आफैँले घरमा बनाएर पिउँदा उत्तम हुन्छ । बजारमा पाइने ‘बबल टी’ मा कतिपय खतरनाक रसायन पनि प्रयोग हुने हुँदा  आफ्ना बालबच्चाका लागि घरमै ‘बबल टी’ बनाएर दिनु राम्रो । आकर्षक देखाउन र प्रतिस्पर्धाका कारण ‘बबल टी’मा प्राकृतिक सामग्री कम प्रयोग हुन थालेको छ ।

कसरी बन्छ ‘बबल टी’ ?

‘बबल टी’का लागि सर्वप्रथम कसबा (पिँडालु) पर्ललाई उम्लेको पानीमा पकाउने । मज्जाले पाकेर नरम हुनासाथ चिसो पानीले पखालेर चिस्याउने । ‘ब्राउन सुगर’को चास्नी तयार गरेर उमालेको पिँडालु पर्ललाई भिजाएर राख्ने । अर्को प्यानमा आफूले इच्छाएको स्वादमा कालो चिया बनाउने । 

‘कन्डेन्स मिल्क’ तयारी अवस्थामा घोलेर राख्ने । उमालेको राखेको ‘टापियोका पर्ल’ आफूले इच्छाएको ग्लास या जारमा हाल्ने र माथिबाट बरफ हालिदिने । त्यसमा तयारी अवस्थामा राखेको कालो चिया खन्याइदिने र अन्त्यमा ‘कन्डेन्स मिल्क’ हालेर हल्का चलाउने । 

अब तयार भएको ‘बबल टी’मा स्ट्र राखेर पिउन सकिन्छ । इच्छा भए विभिन्न फलफूलको स्वाद र ‘स्विटनर’ थपेर पिउन सकिन्छ ।

के हो ‘टापियोका पर्ल’ ? 

‘टापियोका पर्ल’ हामीले खिर बनाएर खाने साबुदाना जस्तै हो । यो पिँडालुको पिठोलाई खैरो चिनीको चास्नीमा मुछेर सानो सानो बल आकार दिएर सुकाई तयार गरिएको हुन्छ । जुन हामीले पिँडालुको जराको पिठोबाट सहज रूपमा घरमै बनाउन सक्छौँ । तापनि यो बजारमा या चिया पसलमा सहज रूपमा प्याकेटमा पाइन्छ । जुन पिँडालुलाई सुकाएर पिठो तयार गरी पानी या चास्नीमा मुछेर तयार गरिएको हुन्छ ।

तयारी ‘टापियोका पर्ल’ किनेर ल्याइएको हो भने प्याकेट खोलेर कति चाहिने हो प्रयोग गरेपछि राम्ररी सिल गरेर कोठाको तापक्रममा राख्न सकिन्छ । धेरै तातो या धेरै चिसो ठाउँमा राख्नु हुन्न । बजारमा किनेको ‘बबल टी’ को डल्ला ‘टापियोका पर्ल’को म्याद कति समयसम्म छ हेरेर मात्र किन्नु पर्छ । सामान्यतया यसको म्याद प्याक गरेको मितिले छ महिना हुन्छ ।