• १२ वैशाख २०८१, बुधबार

गणतन्त्र सोह्रौँ वर्षमा

blog

काठमाडौँ, जेठ १५ गते । मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ । मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

विसं. २०६२/६३ को जनआन्दोलनको जगमा गठन भएको जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणासँगै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको शुभारम्भ भएको थियो भने करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको बिदाइ भएको थियो ।

विसं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रद्वारा २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरिएको थियो भने विसं. २०६३ जेठ ४ गतेको संसद्को बैठकले राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसै गरी सो बैठकले तत्कालीन सशस्त्र आन्दोलनरत माओवादीलाई शान्ति प्रव्रिmयामा ल्याई संविधान सभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो । 

यसै राजनीतिक विकासव्रmमको जगमा २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भएको थियो । सोही संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । त्यसै गरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी ग-यो ।

यसैबिच गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै कुनै एक वंश विशेषमा ज्येष्ठताका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता रहेको बताउनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले यो व्यवस्थाले त्यही अनुकूलको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सिए अग्रजको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने उल्लेख गर्नुभएको छ । गणतन्त्रका लागि भएका विभिन्न आन्दोलनका व्रmममा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको उहाँले औँल्याउनुभएको छ ।

सन्देशमा उल्लेख छ, “विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार हुन् । उनीहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजना त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु ।” 

“लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावापानी र माटो सुहाउँदो होइन, जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै पाइन्छ,” सन्देशमा उल्लेख छ । 

सन्देशमा उहाँले भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै एक मात्र त्यस्तो व्यवस्था हो जसले जनताको घरआँगनमा सेवासुविधा र विकास पु¥याउन सर्वोत्कृष्ट माध्यमको काम गर्दछ तर अहिलेको देशको परिस्थितिले यस्तो हो भनेर प्रमाणित गर्नुपर्ने मुख्य चुनौती हाम्रासामु छ ।”

यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै गणतन्त्र दिवसलाई देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको शान्ति र विकासका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

शुभकामना सन्देशमा उल्लेख छ, “हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ । पूर्व पश्चिम, मधेश, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ ।” 

गणतन्त्र दिवस मनाइरहँदा इतिहासको गौरवलाई शिरोपर गरी वर्तमानको समीक्षामार्फत नवीन र समुन्नत भविष्यको यात्रा गर्ने दृढ सङ्कल्प गर्नुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैसँग आग्रह गर्नुभएको छ ।

यस्तै सभामुख देवराज घिमिरेले आन्दोलनले व्यवस्था परिवर्तन गरे पनि नागरिकको अवस्थामा खासै परिवर्तन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै घिमिरेले सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न अझै आवश्यक भएको बताउनुभएको छ । नागरिकका विकास र समृद्धिका चाहनालाई सहजता प्रदान गर्न आवश्यक रहेको पनि शुभकामना सन्देशमा भन्नुभएको छ । गणतन्त्रले ल्याएको परिवर्तनलाई नागरिकको जीवन पद्धतिमा जोड्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको शुभकामना दिँदै संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभएको छ ।

जनताको त्याग र बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै उहाँले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने आफूले विश्वास लिएको उल्लेख गर्नुभएको छ । 

यसैबिच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको शुभकामना दिनुहुँदै गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिसमेत रहेको बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ, जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्ग, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायका बिचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस् ।”  लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर हामीले गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नुपर्ने बताउँदै उहाँले यसका लागि अग्रसर हुन सबैलाई आह्वान गर्नुभएको छ ।