• ८ जेठ २०८१, मङ्गलबार

माउन्टेन बाइकिङ रिले दौड (सिजन एक) सञ्चालन

blog

प्रतियोगिताका लागि चरिकोट आइपुगेका साइकलसहितका खेलाीहरु । तस्बिर बाबुराम शर्मा

दोलखा, जेठ १४ गते । दोलखाको भीमेश्वर नगरपालिकाको सहकार्यमा यती ओरिजिन्स काठमाडौँले फ्रिडम प्रोजेक्टमार्फत माउन्टेन बाइकिङ रिले दौड ( सिजन एक ) सञ्चालन गर्न लागेको छ । 

धार्मिक पर्यटन तथा प्राकृतिक पर्यटनको रूपमा रहेको दोलखा र भीमेश्वर नगरपालिकालाई माउन्टेन माइकिङमार्फत साहसिक खेलको नयाँ गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो रिले दौड प्रतियोगिता सञ्चालन गर्न लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनु भयो । 

आइतबार यहाँका चार वटा रुटहरूमा माउन्टेन बाइकिङ ट्रायल रेस हुनेछ । गणतन्त्रको दिवसको अवसरमा माउन्टेन बाइकिङ रेस प्रतिस्पर्धा हुनेछ । उहाँले भन्नु भयो, हरेक वर्षको गणतन्त्र दिवसको दिन माउन्टेन बाइकिङ रिले दौड ( सिजन एक ) सञ्चालन हुने र नोभेम्बरमा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइकिङ रिले दौड प्रतियोगिता गर्दै लगिनेछ । यो नगरपालिकालाई साहसिक खेलको हबको रूपमा विकास गराई गिनिज बुकमा नाम लेखाउने उद्देश्य समेत राखिएको छ । 

काठमाडौँबाट ३/४ घण्टाको दुरीमा रहेको कालिन्चोक मन्दिरदेखि नाग दहसम्मको नौ हजार छ सय फिटभन्दा बढीको उचाइलाई रेकर्डको रूपमा र ३० किलोमिटर भित्रको दुरीमा तीन किलोमिटरको उचाइमा माउन्टेन बाइकिङ खेल क्षेत्रभित्र रेकर्ड स्थापित गर्ने उद्देश्य पनि राखिएको नगरप्रमुख मानन्धरले जानकारी दिनु भयो । 

स्थानीय युवालाई गाइड र राइडरको रूपमा विकसित गराई खेलप्रति आकर्षित गराउनु,महिला तथा व्यावसायिक खेलाडीहहरुलाई प्रोत्साहन गर्नु,गाइडहरूको साझा थलोको रूपमा विकास गराई अन्तर्राष्ट्रिय रूपमा यो स्थानलाई ब्रान्ड भ्यालु वृद्धि गर्न सक्ने बनाएर मुस्ताङ र फाप्लुको विकल्पको रूपमा भीमेश्वर नगरलाई परिचित गराउने उद्देश्य राखिएको उहाँले बताउनु भयो । 
कलिञ्चोक मन्दिरदेखि गैरीसम्मको साढे पाँच किलोमिटरको उषा किरण रुट, गैरीदेखि खोरथली भ्यू टावरसम्मको सात किलोमिटरको भव्यमार्ग रुट, खोरथली भ्यूटावरदेखि दोलखासम्मको ११ किलोमिटरको अग्नि रेखा रुट र दोलखादेखि नाग दहसम्मको साढे चार किलोमिटरको नागबेली रुट तय भएका छन् । यसभन्दा बाहेक अन्य रुटहरू पनि खोजबिन भइरहेका छन् । 

गणतन्त्रको दिवसको अवसरमा १५ गते हुने सिजन एक खेलको प्रतियोगितामा १० टिमहरू रहने छन् । चार-चार जनाको टिम हुने छ भने प्रत्येक टिममा एक जना इलाइट वर्गबाट,एक जना व्यावसायिक र एक जना महिला अनिवार्य गरिएको छ । प्रत्येक खेलाडीले चारमध्ये एक रुट चयन गर्न पाउने छन् । 
प्रत्येक रुटमा एक खेलाडी र अर्को खेलाडीबिचको माउन्टेन बाइकिङ दौड प्रारम्भ हुँदा दुई मिनेटको फरक हुनेछ । पहिलो रुट सम्पन्न गर्नेले पहिले नै तय भएको दोस्रो रुटकालाई ब्याटन हस्तान्तरण गर्ने र दोस्रो, तेस्रो एवम् रितले चौथो रुटमा रहेको खेलाडीले नाग दह पुगी दौड पूरा गर्ने छन् ।  
Author

बाबुराम शर्मा