काठमाडौं, जेठ १२ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिक रूपमा असफल भएको बताएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लबबाहेकका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाले जारी लिग खेलिरहेका क्लबको आर्थिक समस्यामा बेवास्ता गरेको बताएका छन् ।
लिगको २१ खेल सकिँदा समेत एन्फाले क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याच लगायत रकम नदिएको आरोप लगाए । ‘‘अहिलेको एन्फा व्यवस्थापनको हिसाबले पूर्ण असफल भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)को अनुदानले मात्र फुटबल चल्छ भन्नु आफैमा मूर्खता हो । एन्फाले एएफसीबाट फुटबल विकासको लागि आएको रकम कतारमा विश्वकप हेर्न जाँदा प्रयोग गरेको छ । त्यो पैसा उठेको छैन। हामीले एक वर्षअघि एन्फा छाड्दा ३८ लाख अमेरिकी डलर फिफा र एएफसीको पैसा बाँकी थियो। साढे १२ लाख डलर नयाँ रकम आइसकेको छ। त्यसैले फुटबल आर्थिक रूपले टाट पल्टिएको होइन । व्यवस्थापन गर्न नजसक्नु कमजोरी हो,’’ हिमालयन सेर्पा क्लबका अध्यक्ष एवं एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन्नुभयो ।
एन्फाको अहिलेको प्राथमिकतामा अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुन लागेको फिफा महिला विश्वकपको टिकट खरिद प्राथमिकतामा परेको तर लिग खेलिरहेका ए डिभिजन लिगको पीडामा एन्फा उदासीन रहेको पनि शेर्पाले बताउनुभयो । उचित योजना र सही तरिकाले काम गरियो भने फुटबलमा लगानी पाउन गाह्रो नहुने शेर्पाको मनाई थियो ।
पत्रकार सम्मेलनमा सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले क्लबले तयारी खर्चको दोस्रो किस्ता समेत नपाएकोले खेलाडी मारमा परेको बताउनुभयो । ‘‘लिगमा सहभागी क्लबलाई लिग सुरु हुनुअघि १५ लाख, १३औँ चरण सकिएपछि १० लाख र लिग सकिएपछि साढे सात लाख रुपियाँ दिने सम्झौता भएको थियो । तर अहिलेसम्म एक किस्ता मात्र पाएका छौँ । खेल तालिकामा पनि एन्फाले एन्फाले लापरबाही गरेको छ,’’ तुलाधरले भन्नुभयो ।
एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठले क्बलहरुलाई बेवास्ता गरेर एन्फा नेतृत्वले फुटबल खेल मास्न लागेको बताउनुभयो । क्लबका पदाधिकारीले खेलाडीलाई एन्फाले ट्याक्सको मारमा पारेको पनि बताउनुभयो ।
‘‘आय करको एउटा सिलिङ हुन्छ, फिफा र एएफसीले पनि देशको कानुन अनुसार खेलाडीलाई कर लगाऊ भनेको हुन्छ । तर एन्फाले खेलाडीलाई कमाइको १५ प्रतिशत भनेर नियम बनाएको छ,’’ श्रेष्ठले भन्नुभयो । क्लबहरूले एन्फाले फुटबल विकासको हितमा भन्दा पदाधिकारीको सेवा सुविधामा ध्यान दिएको पनि बताएका छन् ।
पत्रकार सम्मेलनमा लिगमा सहभागी क्लबहरू मच्छिन्द्र फुटबल क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले, फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम साह, सातदोबाटो यूथ क्लबका अध्यक्ष कपिल रानामगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्रीस्टार क्लबका देवेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।