• ४ वैशाख २०८१, मङ्गलबार

रगतको क्यान्सर ल्युकेमिया

blog

चिकित्सा क्षेत्रमा ल्युकेमिया भनिने रक्त क्यान्सर प्रायः हड्डीको मासीबाट सुरु हुन्छ । त्यसो त मानव अङ्गमा हुने १६ प्रमुख क्यान्सरमध्ये ल्युकेमिया १२औँ स्थानमा र क्यान्सरबाट हुने मृत्युमा ११औँ स्थानमा पर्दछ । 

शरीरका अन्य अङ्ग तथा कोष जस्तै रगत पनि बन्ने र नष्ट हुने प्रक्रिया चलिरहन्छ । यस क्रममा रक्तकोषहरूको असामान्य वृद्धि भयो भने रगतको क्यान्सर उत्पन्न हुन जान्छ । यो क्यान्सर सबै उमेर समूहमा लाग्न सक्छ । एकातिर यो ६०, ७० वर्षको उमेरका मानिसमा बढ्ता लाग्छ भने बालबालिकामा सबैभन्दा बढी हुने एवं निको हुने क्यान्सर पनि यही हो । बर्सेनि करिब २३ लाख मानिसलाई रक्त क्यान्सर लाग्दछ भने साढे तीन लाख मानिस यस क्यान्सरले मर्छन् । 

कारक तत्त्व

रक्त क्यान्सरको कारक तìव यही हो भन्न कठिन छ । अधिकतर वंशाणुगत एवं वातावरणीय तìवहरूको संयुक्त प्रभावले रगतको क्यान्सर लाग्दछ । धूमपानले तथा डिजेलको धुवाँ एवं प्रदूषणले रगतका कोष असामान्य तवरले वृद्धि हुन्छन् । रेडियो विकिरण पनि एक कारक तìव हो भन्ने कुरा बेलाबेलामा भएका परमाणु दुर्घटनाले धेरै बालबालिकालाई रगतको क्यान्सर भएबाट प्रमाणित भएको छ । यसका साथै कतिपय पेट्रोकेमिकल विशेषत : 

रङ उत्पादन गर्ने कारखाना तथा रङ लगाउने काममा लामो समयसम्म संलग्नलाई पनि जोखिम उच्च हुने देखिएको छ ।

प्रकार

ल्युकेमिया एवं लिम्फोमा रगत, रगतमासी एवं लिम्फेटिक प्रणाली (सेतो रगतको प्रणाली) निकै फराकिलो समूह हो । चिकित्सा भाषामा ‘एक्युट’ भन्नाले सख्त अर्थात् एक्कासि हुने समस्या भन्ने बुझिन्छ । जबकि ‘क्रोनिक’ भन्नाले जीर्ण अर्थात् लामो समयदेखिको अथवा लामो समयसम्म रहिरहने समस्या बुझिन्छ । कुन प्रकारका कोष प्रभावित भएको हो त्यसको आधारमा लिम्फोब्लास्टिक (सङ्क्रमणसँग लड्ने खालका कोषसँग सम्बन्धित) वा माइलोजिनस (सामान्यतः रातो रक्तकोष बन्ने, केही प्लेटलेट्स) भनेर छुट्याइन्छ ।

त्यसो भएर रक्त क्यान्सरलाई प्रमुखतः ‘एक्युट’ वा ‘क्रोनिक’ अनि लिम्फोब्लास्टिक वा माइलोइड गरी चार प्रकारमा वर्गीकरण गरिएको छ । बालबालिका तथा वयस्कमा लाग्ने रक्त क्यान्सर फरकफरक हुन्छ ।

एक्युट लिम्फोब्लास्टिक ल्युकेमियामा अपरिपक्व रक्तकोषको सङ्ख्या एक्कासि वृद्धि हुन्छ । यसमा सामान्य रक्तकोष उत्पादन गर्न रगतमासी असक्षम हुन्छ । बालबालिकामा बढ्ता लाग्ने यस प्रकारको रक्त क्यान्सरमा रातो रक्तकोष (हेमोग्लोबिन) र प्लेटलेट्सको सङ्ख्यामा कमी आउँछ । एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया ६५ वर्षमाथिका मानिसमा पनि लाग्न सक्छ । त्यसो भएमा ८० प्रतिशतसम्म रोगीको मृत्यु हुन सक्छ । बालबालिकामा भने ९० प्रतिशत निको हुन्छ र क्यान्सर नफर्किने पनि हुन सक्छ ।

क्रोनिक लिम्फोब्लास्टिक ल्युकेमिया तुलनात्मक रूपमा परिपक्व खालको क्यान्सर भए पनि यसमा असामान्य प्रकारको श्वेत रक्तकोष उत्पादन हुन्छ । यस प्रकारको क्यान्सरको स्थिति खराब हुँदै जान महिनौँ वा वर्षौं लाग्न सक्छ । यस्तो खाले क्यान्सर प्रौढ मानिसमा बढी हुन्छ । क्रोनिक लिम्फोब्लास्टिक ल्युकेमिया प्रौढमा (५५ वर्ष माथिका)लाई लाग्छ भने रोगीमा दुई तिहाइ पुरुष हुन्छन् । उपचार सम्भव छ र पाँच वर्ष बाँच्ने सम्भावना ८५ प्रतिशत रहन्छ ।

एक्युट माइलोइड ल्युकेमिया बढीजसो प्रौढ पुरुषलाई लाग्छ भने पाँच वर्ष बाँच्ने सम्भावना केवल २० प्रतिशत मात्र हुन्छ । क्रोनिक माइलोइड ल्युकेमिया मुख्यतः प्रौढ मानिसलाई लाग्छ भने पाँच वर्ष बाँच्ने सम्भावना ९० प्रतिशतसम्म रहन्छ ।

लक्षण

रक्त क्यान्सरका लक्षण निश्चित खालको नहुने भएकाले अमेरिकन क्यान्सर सोसाइटीका अनुसार करिब २० प्रतिशतमा ल्युकेमिया नै समयमा पत्ता लाग्दैन तर पनि ज्वरो आउने, गिर्खा बढ्ने, कलेजो बढेको अवस्थामा माथिल्लो पेट सुन्निने हुन सक्छ भने कुनै लक्षण नहुने पनि हुन सक्छ । यसका साथै रक्तअल्पता हुने, तौल घट्ने, हड्डी दुख्ने, नाक वा गिजाबाट रगत आउने सभावना रहन्छ । जीर्ण खालको रक्त क्यान्सरमा फियो बढ्ने, रक्तअल्पता हुने, तारन्तार सङ्क्रमण, सास फेर्न गाह्रो हुने तथा पसिना आउने हुन सक्छ ।

रक्त क्यान्सरका कारण शरीरको प्रतिरोधात्मक क्षमता घट्दै गएपछि विभिन्न खाले सङ्क्रमण लाग्न सक्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । सामान्य कोषहरूको सङ्ख्यामा कमी आउनाले पनि यी लक्षण देखा पर्ने हुन् ।

निदान

रक्त क्यान्सरको निदान रगत जाँच र रगतमासीको बायोप्सीबाट गरिन्छ । रक्त क्यान्सर अन्यत्र पैmलिएर अन्य समस्या देखा परेको खण्डमा एक्सरे, एमआरआई र अल्ट्रासाउन्ड गर्नुपर्ने हुन्छ । हड्डीभित्रको रगत वा मासी जाँचपछि रक्त क्यान्सरको वर्गीकरण त्यहीअनुसार केमो उपचार दिइन्छ ।

उपचार

रक्त क्यान्सरलाई निको नहुने रोग भनेर भ्रम पाल्नु हुन्न । विशेषगरी बालबालिकामा हुने एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया समयै पत्ता लगाएर उपचार गरेमा निको हुन्छ । खासमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिकामा यसबाट बढी पीडित हुन्छन् । 

वयस्क उमेरका मानिसमा प्रायः हुने एक्युट माइलोइड ल्युकेमिया, क्रोनिक लिम्फोब्लास्टिक ल्युकेमिया र क्रोनिक माइलोइड ल्युकेमिया निको पार्न गाह्रो हुने हुन्छ र उपचार पनि लामो समय लाग्छ । सुरुका केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ ।

उपचारको हकमा धेरैजसो ल्युकेमिया बहुऔषधियुक्त केमोथेरापीबाट गरिन्छ भने केही रेडियोथेरापीबाट र केहीमा रगतमासी प्रत्यारोपण बोनम्यारो ट्रान्सप्लान्टबाट गरिन्छ । यसका साथै कतिपयलाई टार्गेट थेरापी र सर्पोटिभ केयर आवश्यक पर्छ ।

एक्कासि वा जीर्ण खालको, कुन प्रकारको श्वेत रक्तकण प्रभावित, रक्तअल्पता वा प्लेटलेट्सको कमी, अन्यत्र फैलिसकेको वा नसकेको, गिर्खा (लिम्फनोड) वा रगतमासीमा पैmलिसकेको वा नफैलेको, उपचारको उपलब्धता, उपचारमा संलग्न स्वास्थ्यकर्मीको दक्षतामा उपचारको प्रभावकारिता भर पर्दछ ।

गर्भवती महिलामा विरलै मात्रामा अर्थात् १० हजारमा एक जनामा रगतको क्यान्सर लाग्न सक्छ । गर्भावस्थामा ल्युकेमियाको प्रकारका अनुसार यसको व्यवस्थापन फरक हुन्छ । गर्भवती महिलामा प्रायः एक्युट खाले रक्त क्यान्सर हुन्छ भने उपचार पनि छिट्टै गर्नुपर्ने हुन्छ । गर्भ खेर जाला कि वा गर्भेशिशुमा जन्मजात विकृति होला कि भनेर वास्ता नगरी उपचार थाल्नुपर्ने हुन्छ ।

क्रोनिक खालको ल्युकेमियामा भने गर्भवती महिलालाई सुरक्षित तवरले उपचार दिन सकिन्छ ।