• १९ असार २०८२, बिहिबार

गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

blog

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असार १९ गते । गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभएको हो । 

उहाँले सुनिश्चताको प्रमाणपत्र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्री र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापालाई प्रदान गर्नुभएको थियो । जिल्लाका दुई नगर र १० गाउँपालिकाल पूर्ण खोप दिगोपना सुनिश्चितता गरेपछि जिल्लालाई घोषणा गरिएको हो । 

गुल्मी जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै साताैं जिल्लाको रूपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ । स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले पूर्ण खोप जिल्ला घोषणाको चरण र अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्रमहिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सूक्ष्म योजना अध्यावधिक र छुट बच्चाहरूलाई खोप प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वस्थ्य अधिकृत आचार्यले बताउनुभयो । 

पूर्ण खोप दिगोपन सुनिश्चितता राष्ट्रिय स्तरको महत्त्वपूर्ण अभियान भएकाले लक्ष्य अनुसार काम गर्ने स्थानीय तहलाई स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले धन्यवाद दिनुभयो।

जिल्लामा खोपकेन्द्र ३३२ र सबै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् । जिल्ला खोप समन्वय समिति संयोजक जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले पूर्ण खोप दिगोपन सुनिश्चितताका लागि सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै यसको गुणस्तरीयतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले खोपको उपयोग बढाउँदै नष्ट हुनबाट जोगाउन आग्रह गर्नुभयो ।