• १२ साउन २०८१, शनिबार

पाँच महिनामा मन्त्रिपरिषद्ले पायो पूर्णता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र मन्त्रिपरिषद् सदस्य । फाइल तस्बिर

काठमाडौं, जेठ १० गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएको बुधबार पाँच महिना पुगेको छ। यो पाँच महिनाको अवधिमा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छ। सत्ता समीकरणमा फेरबदल एवम् निकै उतारचढावबीच प्रधानमन्त्री प्रचण्ड सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार २०७९ को पुसमा एक पटक, माघमा तीन, फागुनमा दुई र चैतमा एक पटक मन्त्रिपरिषद् विस्तार भएको छ। यसैगरी, २०८० को वैशाखमा तीन र जेठमा एक पटक गरेर ११ पटक मन्त्रिपरिषद् विस्तार भएको छ। 

प्रचण्ड पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो। पुस ११ गते प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्र, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक/एक वटा उपप्रधानसहित सत्ता भागबण्डा भएको थियो। 

सो दिन उपप्रधान तथा अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार भयो। एमालेका अन्य चार मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्रालयको कार्यभार पछि तोक्ने गरी नियुक्त हुनुभयो। 

माघ ३ गते दोस्रो पटकको मन्त्रिपरिषद् विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानसहित चार मन्त्रालय पायो। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री, धु्रवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री हुनुभयो। 

एमालेले थप चार मन्त्रालय पायो। एमालेबाट डा. विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री बन्नुभयो। 

यसैगरी, नेकपा (माओवादी केन्द्र) को भागमा तीन मन्त्रालय प¥यो। माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुभयो। 

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री बन्नुभयो। 

यसअघि कार्यभार नतोकिएका एमालेका ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राजेन्द्रकुमार राईलाई भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइयो।  जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री हुनुभयो। 

रवि लामिछानेको राजीनामा

नागरिकता विवाद प्रकरणपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माघ १३ गते प्रधानमन्त्री समक्ष राजीनामा पेस गर्नुभयो।  माघ १४ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै तोकियो। 

माघ २२ गते रास्वपाका अन्य मन्त्रीहरुले पनि राजीनामा दिनुभयो। श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमाले पदबाट राजीनामा दिएपछि माघ २३ गते तीनवटै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई तोकियो। 

राप्रपा र एमालेका मन्त्रीको राजीनामा

फागुन १३ गते राप्रपाका उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित अरु मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनुभयो। राप्रपाका शहरी विकास मन्त्री विक्रम पाण्डे, कानुनमन्त्री धु्रवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपक बहादुर सिंहले पदबाट राजीनामा दिनुभयो। 

फागुन १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित एमालेका आठ मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनुभयो। 

राष्ट्रपतिको निर्वाचन र सत्तामा कांग्रेसको प्रवेश

फागुन २५ गते राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चैत ३ गते उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित हुनुभयो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमालेसहितको सरकार गठनमा सहमति नजुटेपछि माओवादी केन्द्र, नेपाली कांग्रेससहितको मन्त्रिपरिषद् विस्तार भएको हो।

चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री हुनुभयो। 

यो पटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डा. वेदुराम भुषाल कृषि तथा पशुपंक्षी विकास, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुभयो। नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ती, सीता गुरुङ सहरी विकासमन्त्री हुनुभयो। 

माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत ऊर्जा, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, जसपाका अशोककुमार राई शिक्षा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री र महेन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुभयो। 

वैशाख ३ गते परराष्ट्र मन्त्रीमा कांग्रेसका नारायणप्रसाद साउद नियुक्त हुनुभयो। उहाँसँगै एकीकृत समाजवादीबाट नन्द चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुनुभयो। 

वैशाख २० गते भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका तर्फबाट धनराज गुरुङ कानुन, मोहनबहादुर बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकियो। 

वैशाख २४ गते कांग्रेसका सुरेन्द्रराज आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक र महिन्द्र राय यादवले खानेपानी मन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। 

जेठ ९ गते जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र जसपाकै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी तोकियो। जेठ १० गते बुधबार जसपाबाट नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। 

२५ सदस्यीय मन्त्रिपरिषद्‍मा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत ऊर्जामन्त्री, रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृतिमन्त्री, अमनलाल मोदी संघीय मामिलामन्त्री, सुशीला श्रीपाली संस्कृति राज्यमन्त्री हुनुहुन्छ। 

नेपाली कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा.प्रकाशशरण महत अर्थ, धनराज गुरुङ कानुन, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य, रमेश रिजाल उद्योग, सीता गुरुङ शहरी विकास, डिगबहादुर लिम्बु खेलकुद र सुरेन्द्रराज आचार्य महिला मन्त्री हुनुहुन्छ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डा. वेदुराम भुषाल कृषि, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नन्द चपाई भौतिक पूर्वाधार राज्यमन्त्री हुनुहुन्छ।

जनता समाजवादीका अशोक राई शिक्षा, वीरेन्द्र महतो वन मन्त्री र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री हुनुहुन्छ। 

लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी श्रम, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था र महिन्द्रराय यादव खानेपानी मन्त्री हुनुहुन्छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।