काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समुद्धितर्फ जुटनसमेत सबैलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
“मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले जननिर्वाचित सांसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्न एउटा गहन दायित्व सुम्पेको छ, राज्यको यो दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यतिकै भूमिका हुन्छ, त्यस्तै, नीजि क्षेत्रलाई विकासको यो अभियानमा साथमा लिएर सरकारले अघि बढ्न जरुरी छ भन्ने म ठान्दछु”, उहाँले भन्नुभयो ।
राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो भन्दै उहाँले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ भन्नुभयो । “आजको युवा पुस्ता देशको भविष्य हो, उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौं, उद्यमशीलता, प्रविधि र सिर्जनशीलताको माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
हामी सबैले मिलेर स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणालीको निर्माणमा ध्यान दिनु आवश्यक रहेको उहाँको भनाइ थियो । साथै सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : कविन अधिकारी
“आजको विश्व प्रतिस्पर्धात्मक अर्थतन्त्रको युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णयहरू आवश्यक छन्, डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको उहाँको भनाइ थियो । “हामीले भुल्न नहुने एउटा महत्त्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ, निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ, निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्दछु”, उहाँले भन्नुभयो ।
मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो यस संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “कोभिड महामारीको प्रभाव, आपूर्ति श्रृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्रलाई प्रभाव पारेको अवस्थामा निजी क्षेत्र र सरकारबिचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ ।”