• ९ जेठ २०८१, बुधबार

पर्यटक तान्न पर्यटन व्यवसायी पुगे भारत

blog

चितवन समाचारदाता

चितवन, जेठ १० गते । भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । 

पर्यटन व्यवसायी भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन गएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका सहरमा चितवनको सौराहा र यस आसपासका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घका पूर्वसचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । 

कोभिड–१९ पछि पर्यटक घटेको र पर्यटन क्षेत्रमा गरिएको लगानी जोखिममा परेको भन्दै व्यवसायी चिन्तित छन् । सीमावर्ती क्षेत्रका भारतीयलाई नेपाल आउन छोटो दूरी हुने र अहिलेको समय उपयुक्त भएकाले कार्यक्रम योजना गरिएको होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । भारतको पटनामा टोलीले बृहत् छलफल तथा अन्तर्क्रिया  गरेको छ । 

टोलीले नेपाल र चितवनका महत्वपूर्ण पर्यटकीय स्थानको जानकारी दिने छ । नेपालको पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी आएका पर्यटक चितवनको सौराहा, देवघाटधाम, चितवन निकुञ्ज ल्याउन सकेमा यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने पूर्वअध्यक्ष घिमिरेको दाबी छ । 

पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसमेत सहभागी कार्यक्रमलाई क्रस बोर्डर सेल्स मिसन कार्यक्रम २०२३ नामकरण गरिएको छ । यो कार्यक्रमपछि भारतीय पर्यटक नेपाल आउने सङ्ख्या वृद्धि हुने क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।