महेशकुमार दास
जलेश्वर, जेठ ९ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । यसका साथै जेठ १० गतेदेखि चिराकी शुल्क बापतको रसिद काट्ने काम सुरु हुने संसारी माई महापुजा मूल समारोह समितिका अध्यक्ष अशोक साहले बताउनुभएको हो ।
संसारी माई महापूजामा बली प्रदानका लागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र मुर्गाको चिराकी प्रतिथान एक सय रुपियाँ शुल्क तोकिएको अध्यक्ष साहले बताउनुभयो ।
संसारी माई महापुजा मूल समारोह समिति अध्यक्ष साहका अनुसार यही जेठ १० बुधबारदेखि चिराक बापतको रसिद काट्ने काम सुरु हुनेछ । चिराकी रसिद कटाउनका लागि जलेश्वर वडा नं. १ स्थित संसारी माई मन्दिरको छेउमै रहेको सार्वजनिक धर्मशालामा स्थापना गरिएको समितिको कार्यालयमा सम्पर्क राख्न आमजन समुदायसँग समितिले अनुरोध समेत गरेको छ । चिराकी बापत संकल्न हुने शुल्क बापतको रकम मेला आयोजनामा खर्च गरिने जनाइएको छ ।
समितिले यसअघि पाँच वर्ष पहिले भएको मेलामा छ हजार पाँच सय बली प्रदान भएको थियो भने यस पालि १० हजारको हाराहारीमा बलि प्रदान हुने अनुमान गरिएको छ । बलिप्रदानको अनुमानित सङ्ख्या अनुसार करिब ३५ लाख शुल्क संकल्न हुनसक्ने अनुमान समेत समितिले गरेको छ ।
चिराकी बापत संकल्न हुने शुल्क र थप दाताहरूबाट प्राप्त हुने नगद अथवा जिन्सी सहयोगबाट साताव्यापी मेला आयोजना हुन गई रहेको जनाइएको छ । यसका साथै समितिले साताव्यापी मेलाको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
जेठ १९ गते सुरुभई २६ गते बलिप्रदान पश्चात् संसारी माई महापुजा मेला सम्पन्न हुने कार्यक्रम छ । साता व्यापी कार्यक्रमअन्तर्गत जेठ १९ गते नगर सरसफाइ, २० गते कलश यात्रा, २१ गते महापाठ, २२ गते लखराम पूजाको कार्यक्रम तय गरिएको र २२ गतेदेखि २६ गते सम्म खोईच भराई तथा प्रसाद चौढानाको कार्यक्रम तय गरिएको जनाइएको छ ।
यसैगरी, जेठ २३ गते हनुमान आराधना, २४ गते अष्टजाम, २५ गते बिडी सलामी र महाआरती र २६ गते बलि प्रदान गर्ने कार्यक्रम रहेको संसारी माई मूल समारोह समितिले जनाएको छ ।
जलेश्वरनाथ महादेव मन्दिरको अगाडि रहेको वरुणसरको पूर्वी मुहारमा अवस्थित संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेका लागि महापूजाको तिथि तय साता यापी कार्यक्रम तय गरेर महापूजाको तयारी तीव्र पारिएको मूल समारोह समितिले जनाएको छ ।