• १३ साउन २०८१, आइतबार

गणतन्त्र दिवसमा राष्ट्रिय ललितकला प्रदर्शनी हुने

blog

काठमाडौँ, जेठ ८ गते । ललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ देखि ३० सम्म ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । 

प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार गर्न लागेको प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिने छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३६ कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति र परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति रहनेछन् । 

यसै गरी हस्तकला विधामा ६३ कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ कलाकार २१ कलाकृति तथा प्रतिस्थापन कला विधामा १२ कलाकारका १२ कलाकृति रहने छन् ।  कार्टुन विधामा १६ कलाकारका १६ कलाकृति, भावभङ्गी विधामा १२ कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा चार कलाकारका चार कलाकृति र डिजिटल विधामा छ कलाकारका सात कलाकृति रहेका छन् । लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरू प्रतिष्ठानमा राखिनेछ । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रूपले पहिलेको जस्तै देखिए पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर गरिने बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कलाकृतिको छनोट, मूल्याङ्कनसँगै क्याटलग प्रकाशन र  डिस्प्लेको काम अन्तिम चरणमा छ ।”

प्रदर्शनीका सद्भावनादूत अनिल चित्रकारले देशलाई चिनाउने अठोटका साथ ललितकलाको क्षेत्रका काम गर्नुपर्ने बताउनुभयो । 

यसै गरी यस वर्ष अरनिको राष्ट्रिय ललितकला, राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार र कला प्रवर्धन सम्मान पुरस्कार पनि सोही क्रममा  प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । साथै यस वर्षको ललितकला प्रादेशिक पुरस्कार, राष्ट्रिय ललितकला पुरस्कार ललितकला विशेष पुरस्कारलगायत विभिन्न विधाका पुरस्कृत व्यक्तिलाई सोही क्रममा पुरस्कृत र सम्मानित गर्ने कार्यक्रम  छ । 

प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जना पत्रकारलाई नगदसहित सम्मानपत्र प्रदान गरिनेछ ।  बीएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी चार जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।