रोल्पा !
ओ रोल्पा !
केही त राख्नु थियो चिनो ।
युद्धका घाइतेले घाउ सिलाएका श-याहरू
अथवा तिनका रगतले लत्पतिएका कम्ब्याटहरू, हतियारहरू
या शहीद भएका वीरहरूको नाम लेखेको समाधि
गोठमै जलेका गाईवस्तुको किलोदाम्लो
सधैँसधैँ त कोही पनि सम्झिरहने यन्त्र हुन सक्दैन
त्यो अभिलेख दिनु थियो
इतिहास सधैँ यादमा आइरहन सक्दैन
इतिहास बताइदिन कोही सदैव जीवित रहँदैन
रोल्पा ! केही त राख्नु थियो चिनो ।
समकालीन पुस्तामा अलग्गै छवि बनाएकी कवयित्री ज्योति जङ्गलको पछिल्लो कवितासङ्ग्रह ‘आधा शिर उचालेर’ यतिबेला साहित्यिक वृत्तमा चर्चामा रहेको छ । ‘रोल्पा ! ओ रोल्पा !’ शीर्षकको कविताको प्रस्तुत अंशले दसवर्षे त्रासदीपूर्ण समयलाई सम्झाउँछन् ।
ज्योतिको पछिल्लो कविताकृति ‘आधा शिर उचालेर’भित्र मूलतः नारी केन्द्रित विषय–सन्दर्भले नै महìव पाएका देखिन्छ । स्त्री–पुरुष एक रथका दुई पाङ्ग्रा, नारी–पुरुष बराबरी, आधा आकास, जस्ता शब्दले पुकारिए पनि व्यवहारमा अझै पनि यस्तो नदेखिएको कवयित्रीको ठहर छ । ‘घाँस काटिरहेकी ऊ’ शीर्षकको कवितामा प्रयोग भएको लाइन ‘आधा शिर उचालेर’बाट सिङ्गो पुस्तकको नामकरण गरिएको देखिन्छ । जम्मा ४३ वटा कवितासङ्गृहीत यस कृतिलाई नारीप्रधान कविताकृति भन्दा पनि हुने देखिन्छ ।
पहिलो कविता ‘मेरा प्रिय’मा उनले श्रीमान्ले श्रीमतीलाई गर्ने व्यवहारप्रति कटाक्ष गरेकी छिन् । जीवित छँदा उसका दुःखमा साथ नदिने, उसको खुसीको मुहान बन्द गरिदिने तर मरेपछि उसको गुणगान र अभाव विलाप गाउँदै शोककाव्य लेख्ने साहित्यिकवृत्तको प्रवृत्तिप्रति उछित्तो काढेकी छिन् । घरलाई धेरै स्रष्टाले आआफ्नो दृष्टिले हेरेका छन्, लेखेका छन् । ज्योतिले पनि घरलाई कैदखानादेखि जीवनको सर्वस्वसम्म पनि भनेकी छिन् ।
पहाड, मधेश, जन्मस्थल, समुद्र, आकाश, चन्द्रमा, माटो, भूकम्प, सुख–दुःख, चाडपर्व, आफ्नाहरू, अग्रजहरू, सबै विषय र सन्दर्भहरू कवितामा अटाएका छन् । बाढीको वितण्डालाई सर्लक्क उतारेकी छिन्, जुन पढ्दा पाठक मन भक्कानिन्छ । विदेश जानेका परिवारका पीडा, छाउगोठको परिदृश्य कवितामा जुन रूपले बिम्बित छ, त्यसले पाठकको मन–मस्तिष्कलाई पक्कै पनि बिथोल्ने छ ।
कृतिका आधाजसो कवितामा लैङ्गिक चेतना र विद्रोही आवाज मुखरित भएको पाइन्छ । लैङ्गिक विभेदको विरुद्धमा नारीप्रधान भाव र शैलीका कविता भएर पनि शालीन र लालित्यपूर्ण बुनोटका कारण ज्योतिलाई कुनै किसिमको ‘जेन्डर बायस’को आरोप लाग्ने अवस्था देखिँदैन ।
जीवनसँगको प्रेम गाढा छ तर बिथोलिएको समय र परिस्थितिले गाँजेर थिलथिलो पारेको छ जिन्दगीलाई । समय र सङ्घर्षको मल्हम लगाएर आफैँ थिगार्नुपर्छ भन्ने साहस कविले अनेक भावमा व्यक्त गरेको पाइन्छ ।
आधा शिर उचाल्नु भनेको परिस्थिति र परिदृश्यप्रति सचेत दृष्टि पु-याउन आग्रह गरिएको पनि हो । हिजोको पस्थितिबाट मुक्त भएर पनि वर्तमानसँग त पौँठेजोरी खेल्नु नै छ । यसका लागि अग्रसर हुन ज्योतिका कवितामा तमाम नारीलाई आग्रह गरिएको छ । उनी देशप्रेमको ढोङ रच्ने, मायाको लोलोपोतो गर्ने, नाता–सम्बन्धको ख्याल नगर्ने सरमछाडा प्रतिनिधि पात्र बादशाहको ओठ सिलाउने साहस गर्न आह्वान गर्छिन् । ‘ओ आइमाई ! शीर्षकको कवितामा त पुरुषलाई कायलनामासमेत गराएकी छिन् । यद्यपि उनले नारी स्वयंलाई पनि सचेत रहन र स्वधर्म पालनमा नचुक्न सम्झाएकी छिन् । सङ्ग्रहको अन्तिम कविता ‘साँझमा नआउनू मेरो घर’मा उनले यस्तो भाव पस्किएकी छिन् ।
ज्योति जङ्गलको प्रस्तुत कविता सङ्ग्रहले उनलाई उम्दा कविको रूपमा उझिल्याएको छ ।
कृति ः आधा शिर उचालेर (कविता सङ्ग्रह)
लेखक ः ज्योति जङ्गल
प्रकाशक: साङ्ग्रिला मिडिया ग्रुप प्रालि
प्रकाशन: २०७९ कात्तिक
पृष्ठ: ११०
मूल्य : रु. २५०।–