• ६ जेठ २०८१, आइतबार

‘गन्तव्य’ मोटरसाइकल बजारमा

blog

काठमाडौँ, जेठ ७ गते । नेपाली विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ बजारमा आएको छ । सुन्दर अटो इन्जिनियरिङले गन्तव्यलाई बजारमा ल्याएको हो । गत आइतबार मोटरसाइकलको नम्बर प्लेट प्राप्त गरेपछि बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । 

सुन्दर अटो इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाका अनुसार हालसम्म ६५ वटा ‘गन्तव्य इभी १०० एस’ निर्माण भइसकेका छन् । जसमध्ये ४० वटा बुक भइसकेका छन् । उहाँले भन्नुभयो, “सरकारले अनमुति दिए हामी दिनको १० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सक्छौँ । माग बढेको छ । हामी ७ गतेदेखि बिक्री  सुरु गर्छौं ।” 

दुई लाख ५० हजार रुपियाँमा पाइने गन्तव्य एक पटक पूर्ण चार्ज भएपछि १२० किलोमिटर गुड्छ । एक पटक पूर्ण चार्ज गर्न २० रुपियाँसम्म लाग्ने थापाको भनाइ छ । कम्पनीले ब्याट्रीमा तीन वर्ष, मोटरमा दुई वर्ष र कन्ट्रोलमा एक वर्ष ‘वारेन्टी’ गरेको छ । 

१९ वटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले सुन्दर अटो इन्जिनियरिङमार्फत हालसम्म तीन सय स्कुटरलाई विद्युतीय स्कुटरमा रूपान्तरण गरिसेकको छ । थापाले भन्नुभयो, “विद्युतीय सवारी वातावरणका साथै सबै हिसाबले नेपालीका लागि ठिक छ, अन्य बाइकभन्दा विद्युतीय वाइक सस्तो पनि छ, २० रुपियाँमा १२० किलोमिटर हिँड्न सकिन्छ तर इन्धनको बाइकमा १२० किलोमिटर हिँड्दा कम्तीमा ५२५ रुपियाँ लाग्छ ।”   

नेपालमै विद्युतीय मोटरसाइकलको उत्पादन गरेर ऊर्जा आयातलाई कम गराउँदै लैजाने थापाको भनाइ छ । हाल नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन भएका छन् । यात्री डिजाइन स्टुडियो प्रालिले विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन गरिरहेको छ । ८५ वटा यात्री मोटरसाइकल बिक्री  भइसकेका छन् भने एउटा दर्ता भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बनेका सवारीसाधनलाई प्रोत्साहनको नीति ल्याउन र दर्ता प्रक्रीया अघि बढाउन वैशाख १० गते निर्देशन दिनुभएको थियो । लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा यातायात व्यवस्था विभागले वैशाख १४ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर दर्ता खुला गरेको थियो ।