• ८ मंसिर २०८१, शनिबार

आर्मी र खुमलटारको बराबरी

blog

लिगमा प्रतिस्पर्धा गर्दै आर्मी र खुमलटारका खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौं, जेठ ५ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

आर्मीले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । खुमलटारका  विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफेन समीर विनोङले गोल गर्नुभयो । जगजितले १५औँ मिनेटमा गोल गर्दै आर्मीको उत्साह जगाउनुभएको थियो ।

३५औँ मिनेटमा खुलमटारका मेसुकेले बराबरी गोल फर्काउनुभयो । त्यसपछि नवयुगले ५१औँ मिनेटमा गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाउनुभयो । तर, ७५औँ मिनेटमा खुमलटारका स्टेफेन समिरले गोल गरेपछि आर्मी अङ्क बाँड्न बाध्य बनेको थियो । 

बराबरीसँगै आर्मीले १९ खेलबाट २६ अङ्क बनाएको आर्मी पाँचौँ स्थानमा छ । खुमलटारले समान खेलबाट १८ अङ्क बनाएको छ । तालिकाको अन्तिममा रहेको खुमलटार रेलिगेसनको दबाबमा छ । 

यस्तै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ३-२ गोलले पराजित गरेको छ । शेर्पाको जितमा जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले गोल गर्नुभयो । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काउनुभयो । 

जितसँगै शेर्पाले १९ खेलबाट २५ अङ्क बनाएको शेर्पा सातौँ स्थानमा छ । समान खेलबाट २२ अङ्क बनाएको एपीएफ ११औँ स्थानमा छ ।