काठमाडौं, जेठ ५ गते । नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
युथ स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष उमेश प्रधानले जानकारी दिनुभयो ।
वसन्तपुर खेल मैदानमा नकआउटमा आधारमा खेलाइने प्रतियोगितामा ‘ए’ डिभिजनको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्ट्स क्लब, काभ्रे जिल्ला फुटबल संघ र दोलखा जिल्ला फुटबल संघको सहभागिता रहनेछ ।
कूल १९ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपियाँ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई दुई हजार रुीपयाँ पुरस्कार प्रदान गरिनेछ ।
२०४८ सालदेखि सुरु भएको सिन्धु कप फुटबल प्राविधिक कारणले विभिन्न समयमा रोकिएको थियो । कोरोनाका कारण पछिल्लो समय २०७६ सालदेखि प्रतियोगिता भएको थिएन ।