• ९ मंसिर २०८१, आइतबार

द्वन्द्वप्रधानले भरिपूर्ण ‘छत्रपति’

blog

सुकृत नेपाल 

काठमाडौँ, जेठ ५ गते। द्वन्द्वप्रधान चलचित्र ‘छत्रपति’ मार्फत चर्चित तेलगु अभिनेता श्रीनिवास बेल्लमकोंडाले बलिउडमा पहिलो पटक प्रवेश गर्नुभएको छ । यसअघि यही नाममा सन् २००५ मा एसएस राजामौलीले चलचित्रको निर्देशन गर्नुभएको थियो । सो चलचित्रमा अभिनेता प्रभासको अभिनय थियो । श्रीनिवास अभिनित छत्रपति सोही चलचित्रको रिमेक हो । 

चलचित्रको कथा एउटा सानो परिवारबाट सुरु हुन्छ, जहाँ आमा र उनका दुई छोरा अशोक र शिव खुसीसाथ आफ्नो जीवन बिताइरहेका छन् । दुवै छोराले आमालाई धेरै माया गर्छन् । आमाले पनि आफ्ना दुई छोरामा कुनै फरक गर्दिनन् । जुन कुरा कान्छो छोरा अशोकलाई मन पर्दैन किनभने शिवको आमाको मृत्यु सानैमा भएको हुन्छ, त्यसपछि उनका बुवाले दोस्रो विवाह गरेका हुन्छन् । यही कारणले पनि अशोक शिवलाई धेरै घृणा गर्छन् । 

सन् १९८५ मा पाकिस्तानबाट केही व्यक्तिलाई भारत ल्याइँदा शिव आफ्नी आमासँग अलग्गिन्छन् । अर्कोतर्फ अशोकले उनलाई आमाको नजरमा मरेको प्रमाणित गर्छन् । भैरु सोलङ्की जो चलचित्रका अर्का पात्र हुन् उनले पाकिस्तानबाट आएका ती शरणार्थीलाई आफ्नो दास बनाएर भङ्गारको आडमा चलिरहेको आफ्नो तस्करीको काममा संलग्न गराउनुहुन्छ । यता शिव भने आमाको खोजीमा भौँतारिरहेका हुन्छन् । उनलाई नायिका नुसरत भरुचाले सहयोग गर्नुहुन्छ । 

दुई वर्षपछि गाउँका जनतालाई उसको दासत्वबाट मुक्त गराउन शिव ‘छत्रपति’ बन्नुहुन्छ । उहाँले आफ्नो जीवन छत्रपतिजस्तै अरूका लागि समर्पित गर्ने सोच बनाउनु हुन्छ । भैरु सोलङ्कीका जेठा भाइ भवानीप्रसाद उनीभन्दा पनि ठुलो गुन्डा हुन्छन्, जसले शिवलाई मार्ने धम्की दिएका हुन्छन् । के शिवले बस्तीका जनतालाई दासत्वबाट मुक्त गर्न सक्षम हुनुहुन्छ ? के उनले आफ्नी आमालाई भेटेर अशोकको घृणा अन्त्य गर्न सक्छन् ? यी सबै प्रश्नको उत्तर नै चलचित्रको मुख्य कथा हो । 

शिवको भूमिकामा श्रीनिवास बेल्लमकोंडाले उत्कृष्ट अभिनय गर्नुभएको छ । उहाँले गरेको द्वन्द्वको दृश्यले सबैलाई लोभ्याउँछ । उहाँसँग नुसरत भरुचाको जोडी निकै जमेको छ । पर्दामा आफ्नो ग्ल्यामर्स छविबाट अभिनेत्रीले फरक छाप छोड्नुभएको छ । यससँगै शरद केलकरले चलचित्रमा जीवन भर्ने काम गर्नुभएको छ । भाग्यश्रीले पनि आमाको भूमिकामा उत्कृष्ट अभिनय गर्नुभएको छ । चलचित्रको कथाले दर्शकलाई अवश्य अन्त्यसम्म अल्झाइराख्छ ।

निर्देशक बिबी विनायकको निर्देशकीय पक्ष राम्रो छ । उहाँले चलचित्रलाई द्वन्द्वप्रधान र रोमाञ्चक बनाउन सबै तरिका प्रयोग गर्नुभएको छ । चलचित्रको द्वन्द्वमा निकै मेहनत गरिएको छ, जुन पर्दामा प्रस्ट देखिन्छ । निर्देशकले हरेक कलाकारबाट उत्कृष्ट अभिनय निकालेका छन् । समग्रमा चलचित्र हेर्न लायक छ ।