• १३ असोज २०८१, आइतबार

कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठक

सरकारबाट फिर्ता हुन आग्रह

blog

शशिधर पराजुली

विराटनगर, जेठ ५ गते । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारबाट फिर्ता हुन नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ । 

कांग्रेस कोशी प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले सङ्घीय सत्ता गठबन्धनमा आबद्ध भएका दल प्रदेशमा फरक गठबन्धनमा बस्नु अमिल्दो भएको भन्दै तत्काल सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकले दुवै दललाई लिखित आग्रह गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकार गठन गर्न आवश्यक सङ्ख्या गठबन्धनसँग रहेको दाबी गर्दै बैठकले नयाँ राजनीतिक परिस्थिति तयार गर्न पहल बढाउने निर्णय गरेको हो । प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी फिर्ता भएपछि नयाँ सरकार बन्ने र त्यसले विश्वासको मत नपाएको अवस्थामा मध्यावधि निर्वाचनमा जान तयार रहेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताउनुभयो । 

“हाम्रो गठबन्धनमा भएका दलहरू सरकारबाट फिर्ता भएपछि नयाँ परिस्थिति बन्छ र नयाँ सरकार गठन गर्न समस्या हुँदैन । कुनै कारणले सरकारले विश्वासको मत प्राप्त गरेन भने हामी मध्यावधि निर्वाचन सामना गर्न तयार छौँ, त्यसमा कुनै समस्या छैन,” थापाले भन्नुभयो । 

संसदीय दलका नेता थापाले कांग्रेस, माओवादी केन्द्र, जसपालगायतको गठबन्धनकै सरकार बनाउन सम्भव रहेको र यसमा राप्रपा पनि सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनको सरकार बनाउन सभामुखले राजीनामा पनि दिनु नपर्ने र भोट पनि हाल्नु नपर्ने नेता थापाले बताउनुभयो । 

प्रदेश सरकारले बजेट ल्याउने तयारी अगाडि बढाएसँगै नेपाली कांग्रेस सरकार परिवर्तनको गृहकार्यमा लागेको हो । कोशी प्रदेशको कुल ९३ सदस्यमध्ये केन्द्रीय गठबन्धनमा आबद्ध ४७ सांसद छन् ।

सभामुखले निर्णायक मत मात्र दिन पाउने भएकाले विश्वासको मत प्राप्त हुनेमा शङ्का पैदा भएकाले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकार छोड्न आनाकानी गर्दै आएका हुन् ।

संसदीय दलको बैठकले कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेको पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि तत्काल मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न र द्वन्द्वको अवस्था समाधान गरी शान्तिपूर्ण राजनीतिक वातावरण तयार गर्न सरकारले पहल गर्नुपर्ने नेता थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो “आन्दोलनकारीले आन्दोलनको मूल्य र मान्यताबाहिर गएर उच्छृङ्खल गतिविधि गरे पनि सरकारले आवश्यक संयमता अपनाउन पनि हामीले आग्रह गर्ने निर्णय छौँ ।”

ल्यापटप अस्वीकार

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले कोशी प्रदेश सरकार अर्थ मन्त्रालयबाट रकमान्तर गरेर सांसदलाई ल्यापटप दिने निर्णयको पनि दलको बैठकले अस्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“अहिलेको तरल अर्थतन्त्रको अवस्था छ, कर्मचारीले तलब सुविधा लिनै समस्या भइरहेको अवस्थामा ल्यापटप बाँड्न जरुरी छैन र यो खरिद प्रक्रिया खारेज गरियोस् र यो रकमले कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्किन डिजिज रोक्ने भ्याक्सिन खरिद गरियोस् । यसले किसानलाई राहत पुग्नेछ,” उहाँले भन्नुभयो ।

प्रदेश सरकारले प्रदेशका ९३ जना सांसद र संसदीय समितिका सचिवलाई एक-एक थान ल्यापटप दिन एक करोड ५० लाख रुपियाँ खर्च गर्ने तयारी गरिरहेको सन्दर्भमा कांग्रेसले त्यसलाई अस्वीकार गरेको हो । बैठकले केही साताअघि परेको असिनापानीका कारण अन्नबालीमा ठूलो क्षति गरेकाले किसानलाई क्षतिपूर्ति दिने प्रस्ताव ल्याउन पनि सरकारसँग माग गरेको छ ।