• २ असार २०८१, आइतबार

महोत्तरीका छ जना बालबालिका सम्पर्कविहीन

blog

नगेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ ३ गते ।
 महोत्तरीको गौशाला नगरपालिकाका छ जना बालबालिका सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिकाका दुई बालक र चार बालिका सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रकाश मल्लले गौशाला नगरपालिका–४ का १५ वर्षीया पूजा सदा, १३ वर्षीया विमला सदा, १८ वर्षीया सङ्गीता सदा, १७ वर्षीया रिता सदा, १४ वर्षीय करण सदा र १३ वर्षीय राजेश सदा सोमबार साँझदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।

प्रमुख मल्लले जेठ १ गते सम्पर्कविहीन भएका बालबालिकाबारे २ गते मात्रै प्रहरीमा जानकारी आएको बताउनुभयो ।  उहाँले सम्पर्कविहीन भएका बालबालिकाको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।

प्रारम्भिक सूचना अनुसार उनीहरूको लोकेसन पत्ता लागेपनि यकिन गर्न नसकिएकाले थप जानकारी अहिले दिन नमिल्ने बताउनुहुँदै उहाँले सम्पर्क सूत्रहरूबाट ठोस जानकारी प्राप्त गर्ने प्रयास भइरहेको बताउनुभयो ।

यता, गौशाला नगरपालिकाका उपप्रमुख रेणु कुमारी महतोले सम्पर्कविहीन  बालबालिकाका खोजीका लागि इलाका प्रहरी कार्यालय गौशालालाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

यसअघि गत वर्ष काम लगाइने भन्दै महोत्तरीको भंगहा नगरपालिकाका करिब १२ जना दलित बालिकालाई भारत लैजाँदै गरेको समयमा सितामढीबाट प्रहरीले सुरक्षित उद्धार गरेको थियो ।